काठमाडौं। माओवादी, एकीकृत समाजवादीसहित २२ दल र घटक मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधि सभा चुनावमा खराब प्रदर्शन गरेको छ। १६५ मध्ये १६४ को नतिजा आउदा सात सिट मात्र जितेको छ।
सुरक्षित स्थान खोज्दै रुकुम पूर्व पुगेका संयोजक पुष्पकमल दाहाल प्रचण्डले चुनाव जिते पनि सहसंयोजक माधव नेपाल भने आफ्नै गृह जिल्ला रौतहटमा हारेका छन् । नेता नारायणकाजी श्रेष्ठ लगायत पनि पराजित भएका छन्।
यो पार्टीबाट सिन्धुपाल्चोक २ मा युवराज दुलाल, रोल्पामा वर्षमान पुन, सल्यानमा रमेश मल्ल, डोल्पामा धनबहादुर बुढा, कालीकोटमा महेन्द्रबहादुर शाही र रुकुम पश्चिममा गोपाल शर्मा विजयी भएका छन्।
नेकपाले कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा निल भएको हो। मधेश प्रदेशमा पनि लगभग निलको अवस्थामा थियो। तर, धनुषा १ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेजको विषय सर्वाेच्च अदालतमा विचाराधीन भएकाले नेकपाको सम्भावना छ। किनकी त्यहाँ साहको उम्मेदवारी खारेजको निर्णय सदर भएमा नेकपा उम्मेदवार मातृका यादव विजयी हुनसक्छन्।












