काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) औपचारिक रूपमा विभाजनमा पुगेको छ। अध्यक्ष रञ्जिता श्रेष्ठको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै बिहीबार राजधानीमा आयोजित राष्ट्रिय भेलाले सांसद लालवीर चौधरीलाई सर्वसम्मतिले नयाँ अध्यक्ष चयन गरेको हो।
रञ्जिता श्रेष्ठले उक्त भेला विधानविपरीत भन्दै अस्वीकार गरिसकेकी छन्। तर, बहुमत केन्द्रीय सदस्य र जनप्रतिनिधिको उपस्थितिमा भेला गरिएको भन्दै नयाँ नेतृत्व पक्षले उक्त निर्णयलाई वैध दाबी गरेको छ।
भेलापछि आयोजित पत्रकार सम्मेलनमा नवनिर्वाचित अध्यक्ष चौधरीले पार्टीलाई विधि र पद्धतिमा ल्याउन यो कदम चालिएको बताए। “डेढ वर्षदेखि अध्यक्षले कुनै बैठक बोलाउनुभएको थिएन। पार्टी निर्णयविहीन बनेको थियो,” उनले भने, “उपनिर्वाचन नजिकिँदै गर्दा उम्मेदवारीको प्रक्रिया अघि बढाउन पनि नेतृत्व परिवर्तन अपरिहार्य भयो।”
नेताहरूले अध्यक्ष श्रेष्ठलाई २४ घण्टे समय दिँदै बैठक बोलाउन आग्रह गरेका थिए। तर, श्रेष्ठले कुनै प्रतिक्रिया नजनाएपछि बहुमत सदस्यको सहभागितामा भेला आयोजना गरिएको बताइएको छ।
लालवीर चौधरीले रञ्जिता श्रेष्ठविरुद्ध कारबाही नभई पार्टीलाई निकास दिन निर्णय गरिएको स्पष्ट पारे। “उहाँ अझै पनि आएर पार्टीमा भूमिका खोज्न सक्नुहुन्छ,” उनले भने।












