काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आवश्यक ५१ प्रकारका निर्वाचन सामग्रीहरूको ढुवानी प्रक्रिया तिब्रताका साथ अगाडि बढाएको छ।
मतदान कार्यका लागि पूर्वनिर्धारित ५२ प्रकारका सामग्रीमध्ये रबर म्याटलाई हटाएर ५१ प्रकारका सामग्रीहरू मात्र जिल्ला जिल्लामा पठाउन सुरु गरिएको हो। आयोगले हाल मतदाता नामावली, मतपत्र, नउड्ने मसीको मार्कर, स्वस्तिक छाप, स्ट्याम्प प्याड र मसी लगायतका आवश्यक सामग्रीहरू खरिद गरी ढुवानी कार्य सुरु गरेको आयोगका सूचना अधिकारी सुमन घिमिरेले बताए। उनकाअनुसार कर्णाली प्रदेशका केही जिल्लाहरूमा यी सामग्रीहरू पठाइसकिएको र केही पुग्ने क्रममा रहेको छ। साथै कोसी प्रदेश र अन्य जिल्लाहरूका लागि पनि सामग्रीहरू पठाउने तयारी भइरहेको छ।












