काठमाडौं । हिमाली जिल्ला मनाङमा पुसको अन्तिम सातामा हिमपात भएको छ । हिमपात नहुँदा चिन्तामा परेका मनाङवासी यतिबेला खुसी भएका छन् ।
चिसो अत्यधिक बढे पनि यहाँ हिमपात हुन सकेको थिएन । विगतका वर्षमा मङ्सिरदेखि हिउँ पर्ने भए पनि यसवर्ष पुसको अन्तिम सातामा मात्रै हिउँ परेको छ । हिमपात भएपछि यहाँका कालापत्थरमा परिणत हुन लागेका डाँडाकाँडामा हिउँले भरिएको छ ।
हिउँ परेपछि जमिन तथा मल भिजेर रसिलो हुने र बालीनाली सप्रने भएपछि किसानहरु खुसी भएका छन् ।
किसानका अनुसार हिउँ परेपछि बहुमूल्य जडीबुटी यार्सागुम्बा, निरमंसी, पाँचऔँले, चिराइतोलगायतको उत्पादन बढ्छ भने तल्लो भागमा परेको हिउँले खेतीपातीका लागि मलकै रुपमा काम गर्दछ ।












