काठमाडौं । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य महेश बस्नेतले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) माथि गम्भीर आरोप लगाएका छन्। उनले बालेनको योजनामा पार्टी अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका नेता रमेश लेखक र आफूलाई लक्षित गर्दै सामाजिक सञ्जालमा गिरफ्तारी अभियान चलाइएको दाबी गरेका छन्।
बुधबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बस्नेतले भने, “सुदन गुरुङजस्ता मान्छेहरू बालेनजीहरूको योजनामा परिचालित छन्। उनीहरूले ‘ओली, लेखक र बस्नेतलाई गिरफ्तार गर्नुपर्छ’ भन्दै मिडिया ट्रायल गर्छन्, सामाजिक सञ्जालमा ट्रेण्ड चलाउँछन्, अनि प्रधानमन्त्री र गृहमन्त्रीसँग डेलिगेशन जान्छन्।”
बस्नेतले सुदन गुरुङलाई ‘उरन्ठेउलो’ को संज्ञा दिँदै उनको भूमिकाप्रति आपत्ति जनाए। उनका अनुसार सुदनले अनाधिकृत रूपमा सरकारी बैठकहरूमा निर्देशन दिने गरेको र यसले प्रशासनिक प्रणालीमा अव्यवस्था सिर्जना गरेको छ।
उनले थप आरोप लगाउँदै भने, “विभिन्न अन्तर्राष्ट्रिय शक्तिका एजेण्टहरूले नेपालको राज्य संयन्त्र कब्जा गर्न खोजिरहेका छन्। सुदन गुरुङजस्ता पात्रहरूलाई एम्बुस बनाएर देशको राजनीतिक नेतृत्वमाथि प्रहार गर्न खोजिएको छ।”
बस्नेतको यो अभिव्यक्तिपछि काठमाडौं महानगर र एमालेबीचको तनाव झनै तीव्र हुने अनुमान गरिएको छ।












