काठमाडौं। विश्व बैंकले ८५ मिलियन अमेरिकी डलर (करिब साढे १२ अर्ब रुपैयाँ) ऋण सहयोग स्वीकृत गरेपछि लुम्बिनी केन्द्रित ‘ग्रेटर लुम्बिनी’ परियोजना कार्यान्वयनतर्फ अघि बढेको छ।
विश्व बैंक बोर्डले मार्च १३ मा ऋण स्वीकृत गरेर फाइल अर्थ मन्त्रालय पठाइसकेको लुम्बिनी विकास कोषले जनाएको छ।
परियोजनाले लुम्बिनीलाई मात्र होइन, देवदह, तिलौराकोट र रामग्राम स्तुपालाई समेटेर बृहत् बुद्ध परिपथ विकास गर्ने लक्ष्य राखेको छ।
नेपाल सरकार र विश्व बैंकबीच औपचारिक सम्झौता भएपछि सहरी विकास मन्त्रालय र पर्यटन मन्त्रालयमार्फत काम अघि बढ्नेछ। परियोजनाअन्तर्गत सडक, नाली, बसपार्क, विद्युतीकरण, ध्यान केन्द्र, विश्रामस्थल, सूचना केन्द्र र स्थानीय उत्पादन बिक्री केन्द्र निर्माण गरिनेछ।












