काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले विकासशील राष्ट्रहरूबीचको साझा अनुभव र सहकार्य नै कृषिको विकासका लागि ठूलो स्रोत हुने बताएका छन्।
संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) द्वारा भियतनामको राजधानी हनोईमा आयोजित ‘एक देश, एक प्राथमिक उत्पादन’ विषयक उच्चस्तरीय अन्तर क्षेत्रीय संवाद कार्यक्रममा मन्त्री अधिकारीले यस्तो धारणा राखेका हुन्। एशिया र अफ्रिकाका कृषि मन्त्रीहरू तथा वरिष्ठ प्रतिनिधिहरू सहभागी उक्त कार्यक्रम दुई दिनसम्म चलेको थियो।
मन्त्री अधिकारीले प्राथमिकतामा परेका कृषि उत्पादनको विकास र व्यवसायीकरणका लागि क्षेत्रीय सहकार्यको आवश्यकता औँल्याउँदै भने, “जलवायु परिवर्तनको असर र बजारको चुनौती बढ्दै गएको अहिलेको समयमा विकासशील राष्ट्रहरूको साझा अनुभव नै सबैभन्दा ठूलो स्रोत हुन सक्छ।”
उनले नेपालको सन्दर्भमा उच्च मूल्ययुक्त उत्पादन जस्तै ठूलो अलैंचीमा विशेष ध्यान दिइएको उल्लेख गर्दै, त्यसको प्रशोधन, मूल्य अभिवृद्धि तथा कृषि उद्यमशीलतामा लगानी बढाउनुपर्नेमा जोड दिए।
कार्यक्रमको क्रममा मन्त्री अधिकारीले भियतनामका उप–कृषि तथा ग्रामीण विकास मन्त्री होआङ त्रुङसँग द्विपक्षीय भेटवार्ता पनि गरेका थिए। भेटमा नेपाल–भियतनाम कृषि व्यापार विस्तार, जडीबुटी र मसला उत्पादन प्रवर्द्धन, कृषि डिजिटलाइजेसन, जलवायु–स्मार्ट कृषि प्रणाली, पोस्ट–हार्भेस्ट प्रविधि, प्राविधिक सहयोग, अनुसन्धान तथा युवा उद्यमशीलता सम्बन्धी तालिम आदान–प्रदान जस्ता विषयमा सहकार्यबारे छलफल भएको मन्त्री अधिकारीले जानकारी दिए।
उनका अनुसार यस्ता संवाद र सहकार्यबाट नेपालले आफ्नो कृषि क्षेत्रलाई आत्मनिर्भर र प्रतिस्पर्धी बनाउन सक्ने विश्वास लिएको छ।












