काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा सम्बोधन गर्दै मुलुकमा अस्थिरता ल्याउने विपक्षी प्रयासहरू सफल नहुने दाबी गरेका छन्। उनले आगामी २०८४ सालको निर्वाचनसम्म अहिलेको राजनीतिक समीकरण यथावत रहने स्पष्ट सन्देश दिए।
ओलीले सरकार गठनको मूल उद्देश्य ‘विथोलिएको राजनीति लयमा फर्काउने, शिथिल अर्थतन्त्रलाई गतिशील बनाउने र नीतिगत स्थिरता कायम गर्ने’ भएको बताए। तर, उनले संसद् र सार्वजनिक बहसलाई ‘अर्थहीन र कपटी विषयमा विषयान्तर गरेर’ सरकारको कामको मूल्यांकनबाट टाढा राख्ने प्रयास भइरहेको आरोप लगाए।
सहकारी घोटालासम्बन्धी मुद्दामा थुनामा रहेका सयौं व्यक्तिमध्ये एकजनामाथि मात्र ‘राजनीतिक प्रतिशोध’को कथा सिर्जना गर्ने प्रवृत्तिलाई ओलीले प्रश्न गर्दै भने, “एउटामाथि प्रतिशोध भयो भने बाँकीमाथि के भयो? त्यो कानुनी कारबाही होइन?”
प्रधानमन्त्रीले स्वतन्त्र न्यायालयको निर्णयमा सरकारले हस्तक्षेप गर्न नसक्ने प्रष्ट पार्दै लोकतान्त्रिक संस्थाहरूलाई ‘मास म्यानुपुलेसन’को आक्रमणबाट जोगाउन सबै शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता औंल्याए।
विदेशी नागरिकता लिएर नेपाल फर्किएका प्रमाणित अभियुक्त र विवादास्पद व्यक्तिहरूले अन्तर्राष्ट्रिय विमानस्थलमार्फत ‘देश बेचिएको’ भन्ने गलत प्रचार गरिरहेको भन्दै ओलीले यस्तो प्रवृत्ति ‘इमोशनल ब्ल्याकमेलिङ’को उदाहरण भएको बताए।
संसद्मा बलियो गणितको आधारमा बनेको सरकारलाई ढाल्ने हल्ला फैलाउने विपक्षी गतिविधि ‘देश र नीतिगत स्थिरताविरुद्धको खेल’ भएको भन्दै उनले भने, “अस्थिरताको जतिसुकै चाहना राखे पनि आगामी ०८४ सालको निर्वाचनसम्म यही राजनीतिक समीकरण अगाडि बढ्छ।”
अङ्ग्रेजी साहित्यको ‘सोलोमनको न्याय’ कथा उदाहरण दिँदै ओलीले लोकतन्त्रलाई जीवन सरह प्रिय मान्ने प्रतिबद्धता व्यक्त गरे। उनले लोकतान्त्रिक प्रणालीलाई नष्ट गर्ने अभिष्ट भएका शक्तिहरूबाट यसको रक्षा गर्न सबैलाई आह्वान गरे।












