काठमाडौं। गत भदौमा गएको जेनजी विद्रोहपछिको चुनावमा तीनजना चर्चित उम्मेदवार भावि प्रधानमन्त्रीका पोस्टर थिए। तीमध्ये एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह बालेनले झापा ५ मा ब्याटल रोज्दा ‘इपिसेन्टर’बन्यो।
र, विशेष महाधिवेशनबाट नेतृत्व हत्याएका कांग्रेस सभापति गगन थापा काठमाडौं ४ छाडेर कांग्रेसकै गढ मानिने सर्लाही ४ पुगे।
खासगरी, यी दुई चुनावी क्षेत्र र तीन नेताको वरपर नै चुनावी चर्चा बढी भयो।
तर, दुवै क्षेत्रमा रास्वपाले बाजी मारेको छ।
चार पटक प्रधानमन्त्री बनिसकेका ओलीलाई बालेनले उनकै गृह जिल्लामा हराएका छन्। काठमाडौं महानगरका पूर्वमेयर शाहले ६८ हजार ३४८ मत पाए। ओली १८ हजार ७३४ मतमा सीमित भए।
सर्लाहीमा पनि त्यस्तै भएको छ। रास्वपाका अमरेशकुमार सिंह ३५ हजार ६८८ मत प्राप्त गरी निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी कांग्रेसका गगन थापाले २२ हजार ८३१ मत प्राप्त गरेका छन्।
एमालेका अमनिशकुमार यादवले ८ हजार ६५४, जनमतका राकेशकुमार मिश्रले १ हजार ३६५ र नेकपाका रजनीश रायले १ हजार २५९ मत प्राप्त गरेका छन्।
यो चुनावमा रास्वपा प्रत्यक्षतर्फ नै झन्डै बहुमत नजिक छ। तर, कांग्रेस र एमालेसहित दलको खराब प्रदर्शन छ।












