काठमाडौं । नेपालमा हाल ७२ जिल्लामा ७५ कारागार सञ्चालनमा छन्, जसमा भक्तपुर, धनुषा, बारा, पूर्वी नवलपरासी र पूर्वी रुकुममा कुनै कारागार छैन। गृहमन्त्री रमेश लेखकले बुधवारको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा कारागार व्यवस्थापन सम्बन्धी तथ्यांक प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन्।
उनका अनुसार देशभरमा हाल २८,७१८ जना बन्दी-कैदीहरू रहेका छन्। पुरुष थुनुवा ९,८३९, महिला थुनुवा ५९६ गरी कुल १०,४३५ जना छन्। कैदीमध्ये पुरुष १७,३२९ र महिला ९५४ गरी १८,२८३ जना रहेका छन्। ६५ वर्षमाथिका कैदी ६०१ जना छन् भने आश्रित बालबालिकाको संख्या ६४ रहेको छ।
विदेशी बन्दीको संख्या १,४२७ रहेको गृहमन्त्री लेखकले बताए। मुद्दाका आधारमा जबरजस्तीकरणका २५.५४%, लागुऔषधका २४.३७%, कर्तव्य ज्यान १६.१२%, सवारी ज्यान तथा अंगभंग ४.१६%, चोरी ३.८२% कैदी रहेका छन्।
देशभरका पुरुष कारागारको क्षमता १६,६२५ रहेकोमा हाल २७,१६८ जना थुनुवा छन्, जसले क्षमता भन्दा ६७ प्रतिशत बढी संख्या देखाउँछ। महिलातर्फ ५० कारागारको क्षमता २,५०१ रहेकोमा १,५५० जना कैदी छन्।
गृहमन्त्री लेखकले प्यारोल प्रणाली मार्फत हालसम्म २,०७५ बन्दीलाई घरमै राख्ने व्यवस्था गरिएको जानकारी दिए।
बाल सुधार गृहको अवस्था पनि जानकारी दिँदै उनले भने, नेपालमा आठ जिल्लामा ९ बाल सुधार गृह सञ्चालनमा छन्। हाल ७८० बालबालिका थुनुवा रहेका छन्, जसमा पुरुष ७६३ र महिला १७ छन्।
उनका अनुसार कारागारका ७,००० बन्दीलाई उत्पादनमूलक काममा संलग्न गराइएको छ। गृहमन्त्री लेखकले कारागार ऐन, २०७९, मुलुकी अपराध संहितासहित कारागार नियमावली २०२० संशोधन गरी नयाँ मस्यौदा मन्त्रीपरिषदमा पुगेको र चाँडै नयाँ नियमावली जारी हुने बताए।












