काठमाडौं । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाँउपालिका–३ बेलासपुरमा दुई समुदायबिच भएको झडपमा २० जना घाइते भएका छन् । झडपका क्रममा स्थानीयले प्रहरीको गाडी जलाइदिएका छन् ।
दुई समुदायका युवा युवतिबिच प्रेम विवाह भएको र विवाद बढ्दै जाँदा सोमबार झडपको अवस्था निम्तिएको प्रहरीको भनाइ छ । करिब ४ महिना अगाडि फरक समुदायका युवा युवतिबिच विवाह भएपछि विवाद भइरहेको गाउँमा आज गाडीले मान्छे हानेको विषयलाई लिएर विवाद उग्र बनेको थियो ।
नवलपरासी पश्चिमका निमित्त प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेका अनुसार ५ जना स्थानीय , १२ जना जनपथ र ४ जना सशस्त्र प्रहरी घाइते भएका छन् । प्रहरीको बा १ झ ७४४८ नम्बरको गाडी स्थानीयले बलेको टायर फालेर जलाइदिएको उनले बताए ।












