काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमालेले प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने प्रक्रिया अघि बढाएका छन्। यसका लागि दुवै दलले आफ्ना सांसदहरूलाई सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बोलाएर हस्ताक्षर संकलन सुरु गरेका छन्।
कांग्रेसले मंगलबार बिहान बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बसेर उपसभामुख हटाउने निर्णय गरेको हो। बैठकपछि आफ्ना सांसदलाई बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म दलको कार्यालयमा उपस्थित भई हस्ताक्षर गर्न निर्देशन दिइएको छ।
त्यस्तै, एमालेले पनि आकस्मिक बैठक बोलाएर सांसदलाई दिउँसो २ बजेसम्म हस्ताक्षर गर्न उपस्थित हुन खबर गरेको छ।
यसअघि सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस सभापति देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीसहित दुवै दलका शीर्ष नेताहरूको बैठक बसेको थियो। सो बैठकमा महान्यायाधिवक्ता रमेश बडालसहितका नेताहरू सहभागी थिए। बैठकमा सामाजिक सञ्जाल नियमनसम्बन्धी सर्वोच्च अदालतको फैसलासँगै उपसभामुख हटाउने विषयमा पनि छलफल भएको थियो।
उपसभामुख रानामाथि अमेरिकी राजदूतावासमा आफ्नो आधिकारिक लेटरप्याड प्रयोग गरी अमेरिका लैजाने व्यक्तिको लागि भिसा सिफारिस पत्र पठाएको आरोप छ। यसअघि पनि उनलाई पदबाट हटाउने चर्चा चलेको थियो, तर दलभित्र विरोधका कारण प्रक्रिया अघि बढ्न सकेको थिएन।












