काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले ‘श्रम संस्कृति पार्टी’ नामक राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेश गरेका छन्। आयोगका अनुसार उनले यही असोज ७ गते निवेदन दर्ता गराएका हुन् र दलको अध्यक्ष पदमा आफैं रहने छन्।
यस्तै, वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले आफू संयोजक रहने गरी ‘नेपाल नागरिक पार्टी’ दर्ताका लागि आयोगमा निवेदन दिएका छन्। भण्डारीले असोज ९ गते निवेदन पेश गरेका हुन्।
चालू आर्थिक वर्षको सुरुमै उज्यालो नेपाल पार्टी दर्ताका लागि निवेदन दर्ता भइसकेको थियो। गत साउन २७ गते उक्त दलले आयोगमा निवेदन दिएको थियो।
निर्वाचन आयोगले यस आर्थिक वर्षमा प्राप्त ३ वटा दल दर्ताका निवेदनमाथि राजनीतिक दल दर्ता सम्बन्धी ऐन र नियमावलीअनुसार आवश्यक प्रमाण पुगे/नपुगेको जाँच गरिरहेको जनाएको छ। आयोगले प्रमाण नपुगे वा विवरण सच्याउनुपर्ने भए सम्बन्धित पक्षलाई पत्राचार गर्नेछ।
कानूनी व्यवस्था अनुसार आयोगले निवेदन पेश भएको ४५ दिनभित्र दल दर्ता सम्पन्न गर्नुपर्ने छ।












