काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले नयाँ पुस्ताको अभिलाषा र इच्छालाई राज्यव्यवस्थाले समेट्नुपर्ने बताएका छन्।
विजया दशमी तथा दीपावलीको अवसरमा जारी शुभकामना सन्देशमार्फत उनले विकसित हुँदै गएको प्रविधि र वैज्ञानिक दक्षतालाई अंगाल्नुपर्ने आवश्यकता औंल्याउँदै नयाँ पुस्ताको मागलाई समर्थन जनाएका हुन्।
पूर्व राजाले भनेका छन्, “नयाँ पुस्ताको अभिलाषा र इच्छालाई हाम्रो राज्यव्यवस्थाले समेट्नै पर्दछ। विकसित हुँदै गएको आधुनिक प्रविधि र वैज्ञानिक दक्षतालाई हामीले ग्रहण गर्नैपर्छ।”
यसै सन्दर्भमा उनले यसपटक सर्वसाधारणलाई टिका नलगाइदिने घोषणा पनि गरेका छन्। जेनजी आन्दोलनका क्रममा भएका सहिदका घटनाले मुलुक शोकमग्न रहेको र संवेदनशील परिस्थितिलाई ध्यानमा राख्दै सार्वजनिकरूपमा टिका कार्यक्रम नगर्ने निर्णय गरेको उनले स्पष्ट पारे।
वर्तमान परिस्थितिलाई राष्ट्र चरम विध्वंश र शोकको स्थितिमा रहेको उल्लेख गर्दै शाहले यसपटकको दशैंलाई पारिवारिक र सांस्कृतिक सीमाभित्र मात्र मनाउन बाध्य भएको बताए।
सन्देशको अन्त्यमा उनले भनेका छन्, “सही, सत्य, अग्रजको आदर, मर्यादा र अनुशासन कायम राख्ने, राष्ट्रलाई माया गर्ने राष्ट्रिय सोच एवं चेत हामीमा हुनैपर्दछ। जे भयो, अबको नयाँ पुस्ता आशा, विश्वास र भरोसाका साथ अघि बढोस्।”













