काठमाडौं । गौर हत्याकाण्डमा सर्वोच्च अदालतले जाहेरी दर्ता गरी अनुसन्धान अघि बढाउन दिएको परमादेशप्रति जनता समाजवादी पार्टी (जसपा) नेपालले आपत्ति जनाएको छ।
बुधबार पार्टी प्रवक्ता मनिष सुमनले एक विज्ञप्ति जारी गर्दै सर्वोच्चको आदेशको पूर्ण पाठ सार्वजनिक नहुँदै सञ्चार माध्यममा एकतर्फी समाचार सम्प्रेषण भएको भन्दै असन्तुष्टि प्रकट गरेका हुन्। जसपाले आदेशलाई पार्टी अध्यक्ष उपेन्द्र यादवलाई राजनीतिक प्रतिशोधको निशाना बनाउने प्रयासको रुपमा आरोप लगाएको छ।
विज्ञप्तिमा भनिएको छ, “मधेश आन्दोलनलाई कमजोर पार्ने र अध्यक्षलाई राजनीतिक प्रतिशोधको निशाना बनाउने दुष्प्रयास स्वरुप आमसञ्चार माध्यमबाट अतिरञ्जित समाचार सम्प्रेषण भइरहेको छ। जनमानसमा भ्रममार्फत द्वन्द्व सृजना गर्ने कार्य नगर्न सञ्चार माध्यमलाई हार्दिक अपील गर्दछौं।”
सुमनका अनुसार अनुसन्धानका लागि अध्यक्ष यादव सधैं तयार छन्। मंगलबार अध्यक्ष यादवले आफूमाथि अनुसन्धान हुने भए सहयोग गर्न तयार रहेको स्पष्ट प्रतिक्रिया पनि दिएका थिए।
सर्वोच्चको न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको इजलासले त्रिभुवन साहसहितको रिटमा जाहेरी दर्ता गरी अनुसन्धान अघि बढाउन आदेश दिएको हो। २०६३ साल चैत ७ गते रौतहटको गौरमा माओवादी र तत्कालीन मधेशी जनअधिकार फोरमबीच भएको झडपमा २७ जनाको मृत्यु भएको थियो।
जसपाले यसअघि तत्कालीन सरकारले नै उच्च स्तरीय न्यायिक जाँचबुझ समिति गठन गरेर सत्य तथ्य अभिलेखीकरण गरिसकेको, राष्ट्रिय मानव अधिकार आयोग तथा संयुक्त राष्ट्रसंघीय मिसनले समेत स्वतन्त्र अनुसन्धान गरी प्रतिवेदन सार्वजनिक गरिसकेको दाबी गर्दै यसलाई राजनीतिक विषयमा राजनीतिक समाधान खोजिनुपर्ने बताएको छ।













