Outline Khabar
बुधबार, फाल्गुन ६, २०८२
Wednesday, February 18, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बुधबार, फाल्गुन ६, २०८२
Wednesday, February 18, 2026
                                                       
No Result
View All Result

मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]

मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]

जेन–जीहरूले मात्र होइन, नेपालका लाखौँ लाख नरनारीहरूले सडकमा आएर घरमा बसेर रिस पोखेका हुन्, आक्रोश व्यक्त गरेका हुन्, आफ्नो असन्तुष्टि व्यक्त गरेका हुन्। कोसँग व्यक्त गरेको? सरकारसँग। अनि त्यो सरकारमा को थियो? हामी थियौँ। कोसँग व्यक्त गरेको? संसदसँग। त्यो संसदमा को थियौँ? हामी थियौँ। व्यक्तिगत रूपमा रिसाएको होइन, हाम्रो कामसँग रिसाएको। भ्रष्टाचारसँग रिसाएको, कुशासनसँग रिसाएको, बेथिति सँग रिसाएको।

राजाको छोरा राजा हुने व्यवस्था फालेर बनेको गणतन्त्रमा नेपो बेबीहरूको राज देखेर रिसाएको। रिसाएकै हो नि, चित्त दुखाएकै हो नि, असन्तुष्ट भएकै हो नि। हाम्रो अगाडिको प्रश्न— त्यसलाई हामीले अनदेखा गर्ने, त्यसलाई हामीले बेवास्ता गर्ने वा त्यसलाई हामीले बुझ्ने, मनन गर्ने वा सम्बोधन गर्ने भन्ने हो। यो विशेष अधिवेशन त्यसकै एउटा प्रयास हो।

Subisu

हामीले यति मात्रै भनेको— नेपाली कांग्रेस पार्टीले यत्रो घटना भइसके पछाडि हामी चुप बस्न मिल्दैन। हामीले अनदेखा गर्न मिल्दैन। हामीले यसलाई सामान्य घटनाको रूपमा पनि लिन मिल्दैन। यो उथलपुथल पछाडि एकपटक कांग्रेस अडिनुपर्छ, एकपटक पछाडि फर्कनुपर्छ, एकपटक आफैँ भित्र पनि टटोल्नु पर्छ। एकपटक हाम्रो आफ्नै घर-परिवारभित्र पनि हेर्नुपर्छ। कसैलाई गाली गरेर होइन, कसैलाई दोष लगाएर होइन। हामी पनि त्यही रेलभित्रै सवार छौँ। हामी आफ्नो पनि जिम्मा लिनुपर्छ। हामी लिन्छौँ पनि, लिएका पनि छौँ, लिन पनि तयार छौँ। तर एकपटक हामीले आफूले आफूलाई सोध्नुपर्छ— गल्ती कहाँ भयो, कमजोरी कहाँ भयो।

ती तिनै मानिसहरू हुन् जो कुनै बेला यिनै सडकहरूमा कांग्रेसले झन्डा फराउँदै गर्दा हाम्रो एक आह्वानमा सेनाको ट्याङ्क राख्दै गर्दा हामीसँग गोली थाप्न आएका मानिसहरू हुन्थे। तिनकै छोराछोरीहरू हुन्। तर आज हामीसँग किन रिसाए? हामीले यति कुरा भनेको— यसैको लागि हामीले भनेको— हामी एक ठाउँमा आउनुपर्छ, हामीले समीक्षा गर्नुपर्छ र त्यसका निम्ति अधिवेशन भन्दा अर्को मञ्च हाम्रा निम्ति सानो मञ्च हुन्छ। हाम्रो कुरा मिलेन र आज हामी को यहाँ आएका छौँ, को यहाँ आएका छैनौँ। त्यसैले यो शक्तिको सङ्घर्ष होइन, सत्ताको सङ्घर्ष होइन। देशलाई कसरी बुझ्ने, नागरिकलाई कसरी बुझ्ने, जनभावनाको कदर गर्ने कि नगर्ने भन्ने हाम्रो सोचको भिन्नताको कारणले गर्दा आज हामी को यहाँ भयौँ, को यहाँ हामी हुन सकेनौँ।

दोस्रो विषय पार्टीसँग जोडिएको छ। पार्टी भनेको के हो? श्रद्धेय सभापति हुनुहुन्छ, हामी यहाँ महामन्त्री छौँ। त्यहाँ तल थुप्रै साथीहरू बस्नुभएको छ। अझ कोही गाउँमा हुनुहुन्छ। यहाँ मञ्चमा बस्ने महामन्त्री पनि आज यहाँ नआउनुभएको सभापति पनि कांग्रेसको सदस्य हो, तल बस्ने पनि कांग्रेसको सदस्य हो— दुवै बराबर हुन्। यहाँ कोही ठूलो, कोही सानो छैन। पद मात्रै हो यो, जिम्मेवारी मात्रै हो यो। सबै बराबर हो। कांग्रेस भनेकै त्यही हो। कांग्रेसमा त्यो कुनै हाइरार्की छैन। भएको भए यो पार्टी नै बन्दैन थियो। यो सबैको साझा घर हो यो। सबैको हक छ यहाँ, सबै बराबर छ यहाँ। पार्टीको सबैभन्दा यसको अधिकार अझ भन्ने हो भने सबैभन्दा बढी अधिकार तल्लो तहमा बस्ने सदस्यको छ। उसले त केवल जिम्मा दिएर मात्र हामीलाई पठाएको।

जसरी नागरिकहरूले भदौ २३ र २४ मा आफ्नो भावना व्यक्त गरे, भदौ २३ र २४ गते पछाडि पार्टीका सदस्यहरूले पनि भने हामीलाई, सबैलाई भने— ‘तिमीहरू सुध्रिनुपर्छ अब, तिमीहरू बदलिनुपर्छ अब। पार्टी जसरी चलेको छ ठीकठाक चलेको छैन। तिम्रा निर्णयहरू ठीक थिएनन्। तिमी चुनावमा एउटासँग मिलेर लड्ने, सरकार अर्कोसँग मिलेर बनाउने। तिमी सरकारमा जानका निम्ति जे पनि गर्ने, सरकारबाट बाहिर बस्नुपर्‍यो भने सबै कुरा सकिएको जस्तो गर्ने, तिम्रो चालढाल ठीक थिएन। तिमी बदलिनुपर्छ।’ पार्टीको सदस्यले हामीलाई यही कुरा भनेको। तिमी समीक्षा गर, तिमी एकपटक छलफल गर, तिमी कहाँनिर चुक्यौ— तिमीलाई त मैले जिम्मा दिएर पठाएको, सांसद बनाएँ, मन्त्री बनाएँ, पार्टीको सभापति, महामन्त्री बनाएँ— तिमीहरू बस, छलफल गर। यति कुरा मात्रै भनेको थियो।

पार्टीको सदस्यहरूले भनेको त्यही कुरालाई बोकेर पार्टीको महाधिवेशन प्रतिनिधिहरू आउनुभयो र हामीसँग भन्नुभयो— ‘आदरणीय सभापतिज्यू, महामन्त्रीज्यू, तपाईंहरू महाधिवेशन गर्नुस्। तपाईंहरूले महाधिवेशन गर्न भ्याउनुहुन्न भने हामीले तपाईंहरूलाई अनुरोध गरेका छौँ, विशेष महाधिवेशन गर्नुस्।’ यो कुन चाहिँ नौलो कुरा हो? यही पार्टीकै साथीहरू होइन? यहाँ अहिले आउनुभएको महाधिवेशन प्रतिनिधिहरू भनेको त्यही महाधिवेशन प्रतिनिधि होइन जसले आज भन्दा ठिक चार वर्ष अगाडि ठिक अगाडि पट्टिको राष्ट्रिय सभागृहमा गएर झ्याप्प-झ्याप्प भोट हालेर शेरबहादुर देउवालाई सभापति बनाएको महाधिवेशन प्रतिनिधि होइन यो? हामीलाई महामन्त्री बनाएको महाधिवेशन प्रतिनिधि होइन? त्यही महाधिवेशन प्रतिनिधि त हो नि। आउँछ नयाँ आउँछ, आउँदैन पुरानो साथीहरू हुनुहुन्छ। बस्नुस्, छलफल गर्नुस्। पार्टीको साथीहरूले भनेको कुरा हो नि।

त्यसैले यो सङ्घर्ष पार्टी, पार्टीको बारेको धारणा— पार्टी भनेको यहाँ कोही मालिक कोही दास छैन। यहाँ सब बराबर छ। पार्टीको सदस्यहरूले आफ्नो हकको दाबी गरेको हो यो। आजबाट अघिनै महेश दाइले भन्नुभएको छ, आजबाट आजबाट नेपाली कांग्रेस पार्टी भित्र लामो समय देखि जाम भएर बसेको, लामो समय देखि पार्टी भित्र पार्टी सञ्चालनको जुन तरिका जसरी रह्यो, आजबाट यो भत्कियो। अब कसैले यसलाई भोलि जो सुकै आओस्, कसैले पनि अब पार्टीको सदस्यलाई हेप्न सक्दैन अब। कसैले पनि सक्दैन अब। तल बस्ने सदस्यहरूलाई माथि बस्नेले अब निहुरिएर सलाम गर्नुपर्छ, जय नेपाल गर्नुपर्छ। तलबाट माथि होइन, किनकि यो पटक यो माथिले गरेको होइन यो तलले गरेको हो यो। र तल बस्ने सदस्यहरूलाई पनि गाउँको साथीहरूले गर्न पठाउनुभएको हो यो, बदल्न पठाउनुभएको हो यो। त्यसैले यो सङ्घर्ष पार्टी भित्रको कुनै व्यक्ति बन्ने नबन्ने भन्ने सङ्घर्ष होइन, पार्टी कसरी चलाउने भन्ने विषयसँग जोडिएको विषय पनि हो।

यो विशेष महाधिवेशन भोलि यसको बन्द सत्र छ। यो कहाँ गएर टुङ्गिन्छ मलाई थाहा छैन। यो नेपाली कांग्रेसको केन्द्रीय समितिले आयोजना गरेको भए मैले केन्द्रको महामन्त्रीको हैसियतबाट यो महाधिवेशनको एजेन्डा यो-यो छ, त्यसैले सम्भवतः यहाँ गएर टुङ्गिन्छ भनेर भन्न सक्थेँ होला। यो त सदस्यहरूले मागेर भएको महाधिवेशन हो। तपाईंहरूले माग्दै गर्दा के माग्नुभएको छ? नीति पनि बदल्ने, नेता पनि बदल्ने भनेर माग्नुभएको छ। मैले मागेको होइन, तपाईंहरूले माग्नुभएको छ।

यो कहाँ गएर टुङ्गिन्छ मलाई थाहा छैन। किनकि म पनि तपाईंहरूले बोलाएर आएको एउटा पाहुना मात्र हुँ आज। तपाईंहरूले आयोजना गर्नुभएको छ। भोलि अधिवेशनको हाउस बस्छ र हाउस विल डिसाइड। त्यो हाउसले डिसाइड गर्छ। जे डिसाइड गर्छ मेरो लागि त्यो स्वीकार्य छ। मैले त्यसलाई मान्नुपर्छ। अर्को महामन्त्रीले भनिसक्नुभएको छ, उहाँले पनि त्यसलाई मान्नुपर्छ, हामी सबैले त्यसलाई मान्नुपर्छ। तपाईंहरूले जहाँ लगेर टुङ्ग्याउनुहुन्छ त्यसमा केही पनि आपत्ति छैन। किनकि जति गर्नुभएको छ मेरो लागि यो पनि ठूलो छ। मैले यसलाई पनि सम्मान गर्छु। किनकि तपाईंको यो प्रयासले नेपाली कांग्रेसको बारेमा एउटा कुरा स्थापित गरेको छ— कांग्रेस दास र लासहरूको पार्टी होइन। कांग्रेस जिउँदो मानिसहरूको पार्टी हो। कांग्रेसमा प्रश्न मरेको छैन।

यहाँ कुनै बा छैन जसले नबोल भन्दै गर्दा बोल्न छोड्ने कोही पनि छैन। यहाँ हामी सबै बराबर छौँ। यहाँ प्रश्नहरू छन्। जुन पार्टी भित्र प्रश्न मर्छ त्यो पार्टीले समाजमा प्रश्न गर्न सक्दैन। जसले प्रश्न गर्न सक्दैन त्यसले उत्तर पनि खोज्न सक्दैन। त्यसले समाधान पनि दिन सक्दैन। तपाईंको यो प्रयासले कांग्रेसलाई जिउँदो राखेको छ। जिउँदो कांग्रेसले बल्ल समाजको आफ्नो जिम्मेवारी पूरा गर्न सक्छ। त्यसैले फेरि एकपटक तपाईंहरू सबैलाई अभिनन्दन गर्न चाहन्छु।

आदरणीय सभापति, मेरो श्रद्धेय नेता शेरबहादुर देउवालाई पनि यहीँबाट सम्झेर सम्मान प्रकट गर्दै दुईटा कुरा मैले राख्नैपर्छ। शेरबहादुर दाइ, म यहाँ बस्दै गर्दा मैले समाचार पढेँ— केही पार्टीका श्रद्धेय नेताहरू अहिले बसेर छलफल गरिराख्नुभएको छ, मैले सुनेँ। पक्कै पनि नेताहरूले के भनिराख्नुभएको होला भने— यी दुइटा महामन्त्रीले नचाहिने काम गरे, यी दुइटा महामन्त्रीले अराजनीतिक काम गरे, यी दुइटा महामन्त्री तपाईंलाई दुःख दिइरहेका छन्। तर सम्झनुस् भदौ १८ गते पनि यी दुइटा महामन्त्री तपाईंकैमा थिए, भदौ २२ गते पनि तपाईंकोमा थिए, भदौ २४ गते बिहान पनि सबैभन्दा पहिला तपाईंसँग सम्पर्क गर्ने यही दुइटा महामन्त्री थिए। भदौ २५ गते घटना भइसके पछाडि पनि सबैभन्दा पहिला वक्तव्य निकाल्ने आँट गर्ने पनि यही दुइटा महामन्त्री थिए।

र त्यसपछि तपाईंलाई आएर घरमा आएर भेटेर ‘दाइ, यो देशमा यो प्रजातन्त्रको लागि तपाईंको ठूलो योगदान छ, तर समय आएको छ अब तपाईंले छाडिदिनुपर्छ। समय आएको छ अब तपाईंले आराम गर्नुपर्छ। समय आएको छ तपाईंले अब मार्ग प्रशस्त गरिदिनुपर्छ। इतिहासले पछि तपाईंको मूल्याङ्कन गर्दै गर्दा कति खराब कामहरू भए होलान् त्यसलाई बिर्सनेछ, नेपाली समाज यी मानिसहरूमा धेरै माथि छ। तपाईंलाई सम्झनेछ सुदूरपश्चिमको एउटा गाउँबाट आएर नेपालको प्रजातन्त्रको लागि गरेको तपाईंको सङ्घर्षलाई सम्झनेछ। तर अब तपाईंले छाडिदिनुपर्छ’ भन्दै गर्दा हामीले राखेर भन्नुभएको होइन— मंसिर भित्र अधिवेशन गर्नुस्, अब मैले कार्यवाहक दिएँ, मैले सबै कुरा छाडेर गएँ भनेर भन्नुभएको होइन। त्यो गएको दिन कांग्रेस मात्र होइन कांग्रेस भन्दा बाहिरको मानिसले पनि नेता हुन त शेरबहादुर देउवा जस्तो भनेको होइन?

त्यसैले यो मञ्चमा बस्नेहरू तपाईंलाई माया नगर्नेहरू होइनन्। तपाईंलाई माया गर्नेहरू हुन्। तपाईंको चिन्ता गरेर तपाईं प्रतिको सम्मान नघटोस् भनेर तपाईंलाई बारम्बार भनिएको हो दाइ— छाडिदिनुस् अब। जसले घुमीघुमीकन तपाईंलाई बोलाउन गए वास्तवमा ती तपाईंलाई माया गर्ने मान्छे होइनन्।

पार्टीको वरिष्ठ नेतालाई पनि सम्झन चाहन्छु। कतिले के भन्छन्— विशेष महाधिवेशन गर्नुपर्‍यो, गगनलाई सभापति बन्नु पर्‍यो, विश्वप्रकाश शर्माले त १५ औँ महाधिवेशनको पनि सभापति बन्दिनँ। अहिले म के पनि बन्दिनँ। विश्वप्रकाश शर्मालाई विशेष महाधिवेशन र व्यक्तिगत रूपमा के चाहिएको छ? केही पनि चाहिएको छैन। मलाई कतिपयले भनिराख्नुभएको छ— मैले पार्टीको वरिष्ठ नेताको घरमा विश्वप्रकाश शर्मासँग गएर दुई हात जोडेर भनेको छु— आउनुस् दाइ यो बेलामा पार्टीलाई नयाँ नेतृत्व चाहिएको छ, बन्ने भए तपाईं बन्नुस्। कार्यवाहक सभापतिको घरमा गएर भनेका छौँ— आउनुस् बन्नुस्।

हामी अघि कुरा भयो नि— हामी गणेशमान सिंहले प्रधानमन्त्री छाड्नुभएको पार्टीका गणेशमानका कार्यकर्ताहरू हौँ। हामी बिपी कोइरालाका कार्यकर्ताहरू हौँ जसले प्रधानमन्त्री हुँदाहुँदै जेलखानामा आठ वर्ष कोचिनु पर्दाखेरि पनि अइया-अत्था भन्नुभएन, बिपी कोइरालाका कार्यकर्ताहरू हौँ। एउटा पार्टीको सभापति बन्ने कुरा वा प्रधानमन्त्री बन्ने कुराले लोभ्याएर हामी साथीहरूलाई देशभरिका साथीहरूलाई आह्वान गर्न उभिएको होइन। हामी नागरिकहरू प्रतिको पार्टीको जिम्मेवारी बहन गर्नका निम्ति पार्टीलाई ठीक ठाउँमा उभ्याउनुपर्छ भनेर अधिवेशनको आह्वान गर्ने ठाउँमा पुगेका हौँ। हामीले हाम्रा नेताहरूलाई यो कुरा बुझाउन सकेनौँ भन्ने लाग्छ।

आदरणीय साथीहरू, आज पृथ्वी जयन्तीको दिन हो। यो नेपालका साना-साना राज्यहरूलाई एकीकरण गर्ने राजा पृथ्वीनारायण शाह देखि बिसे नगर्ची सम्म सबै त्यो एकीकरणको अभियानताहरूलाई आज सम्झने दिन पनि हो। यो भन्दै गर्दा कांग्रेसले आफ्ना पनि ती श्रद्धेय नेताहरूलाई सम्झनुपर्छ। किनकि नेपालको एकीकरण त्यहाँबाट प्रारम्भ भयो तर नेपालको भावनात्मक एकीकरण नेपाली कांग्रेस पार्टीको स्थापना भएबाट प्रारम्भ भयो। यो नेपाली कांग्रेस पार्टीका अग्रजहरूले हिमाल पहाड तराई सबै जातजाति सबै धर्मका सबै भाषाका नेपालीहरूलाई जोडेर त्यो नेपाली भन्ने भावना नेपाली मन-मनमा स्थापित गरेको नेपाली कांग्रेसले हो।

नेपाली कांग्रेस पार्टी स्थापना भएको बेलामा चुनाव लडौँला, चुनाव जितौँला, प्रधानमन्त्री बनौँला, मन्त्री बनौँला… २२, २५, २६ वर्षका केटाकेटीहरूले स्थापना गरेको पार्टी, कसैको मनमा पनि त्यो थिएन, कसैले त्यो चाहना राखेको पनि होइन। सबैको एउटा ठूलो सपना थियो— यो देशलाई अँध्यारोबाट बाहिर ल्याउने। त्यसैले कांग्रेस चुनावबाट बनेको पार्टी होइन, कांग्रेस चुनावका लागि बनेको पार्टी होइन। कांग्रेस राष्ट्रिय शक्ति हो।

राष्ट्रिय शक्ति र राष्ट्रिय पार्टीमा भिन्नता छ। राष्ट्रिय पार्टी चुनावले निर्धारण गर्छ— कति भोट ल्यायो, कति मत आयो। राष्ट्रिय शक्ति जिम्मेवारीले निर्वाह गर्छ। कांग्रेस राष्ट्रिय शक्ति हो। राष्ट्रिय शक्तिको अर्थ के हो? समाजमा जे समस्या हुन्छ, त्यो समस्यालाई छाम्ने, त्यसलाई चिन्ने अनि त्यसलाई चिर्ने, त्यसलाई पर्गेल्ने, त्यसको हल खोज्ने राष्ट्रिय शक्तिको जिम्मेवारी हो। प्रत्येक पटक यही त गर्दै आएका छौँ।

२०६० साल सम्झनुस् त, जतिखेर बिहान उठ्दै गर्दा सहरमा बसौँ कि गाउँमा बसौँ, रेडियो र टेलिभिजन मात्र हुँदै गर्दा त्यो बेलाको सम्झनुस् त, हामी प्रत्येकले बिहान रेडियो खोल्दै गर्दा, टेलिभिजन खोल्दै गर्दा १० जना, १५ जना, २० जना मान्छे मारिएको समाचार नसुनीकन हाम्रो दिन प्रारम्भ हुँदैनथ्यो। त्यो बेलामा देशको सबैभन्दा ठूलो समस्या हिंसा थियो। हिंसाबाट बाहिर निकाल्ने जिम्मेवारी कांग्रेसको रह्यो। फरक-फरक समयमा हाम्रो फरक-फरक जिम्मेवारी रहेको छ।

अहिलेको समस्या के हो? अहिलेको चुनौती के हो? २३-२४ गते व्यक्त भएको कुरा के हो? त्यो आक्रोशको जरामा के छ? त्यो असन्तुष्टिको जगमा के छ? त्यसको जगमा अघि नै कुरा भयो— विश्वासको संकट छ। आम नागरिकहरूले विश्वास गुमाएको बेला छ। ‘नेपाल आज ठीक छैन, तर भोलि ठीक हुन्छ’— यो इम्याजिनेसनमा गएको १०-१२-१५ वर्ष नेपाली समाज डोरियो। तर अहिले ‘क्राइसिस अफ इम्याजिनेसन’, त्यो परिकल्पना नै हराएको जस्तो अवस्था छ। ‘कोल्याप्स अफ ट्रस्ट’ विश्वास गुमाएको अवस्था छ।

यो बेलामा नेपाली कांग्रेस पार्टीको जिम्मेवारी हो, हाम्रो काम हो, हामीले सम्हाल्नुपर्ने छ। हामीले सबैलाई सम्हालेर लैजानुपर्ने छ। चुनाव केही ठूलो कुरा होइन। चुनाव आउँछ, जान्छ। चुनाव कहिले जितौँला, कहिले हारौँला। नेपाली कांग्रेस पार्टी चुनावभित्र सीमित रहने यो हाम्रो जिम्मेवारी होइन। त्योभन्दा फराकिलो भएर हामीले हेर्नुपर्ने छ। हाम्रो सिस्टम पनि जोगाउनुपर्ने छ, संविधान पनि जोगाउनुपर्ने छ। त्योभन्दा बढी हामीले नागरिकहरूको भरोसा जोगाउनुपर्ने छ।

पञ्चायत कालमा ३० वर्ष पञ्चायती सत्ताको बेलामा पनि नडगमगाईकन दूरदराजको पहाडमा बसेको एउटा पिताजी र माताजी, समयक्रममा झरेर मधेस आउँछन्। अनि मधेसमा आएर सानो खेत जमिन जोतेर खनिरहेको ठाउँमा त्यहीँबाट फेरि माओवादीबाट लखेटिन्छन्। त्यहाँबाट भागेर आएर सानो एउटा सहरमा आएर बसेर, त्यो सहरमा गएर काम गर्दै गर्दा चुनाव आउँछ अनि चुनावमा कांग्रेसले त्यही हँसिया र हथौडामा भोट हाल्न लगाउँछ।

अनि छोरो कतार काम गर्न जान्छ। अनि कतार काम गर्न गएको छोराले ‘कम्तिमा पनि मेरो बाले पनि दुःख गरे, आमाले पनि दुःख गरे, मैले पनि दुःख गरे, फर्केर आएँ, दुई पैसा लिएर आएँ, मेरो छोरा र छोरीलाई राम्रो विद्यालय पढाएँ। अब मेरो छोरा र छोरीसँग बस्छु’ भन्दै गर्दा छोराले भन्छ— ‘क्यानडा जान्छु’, छोरीले भन्छ— ‘अस्ट्रेलिया जान्छु बा, यो देशमा त बस्तै बस्दिनँ।’ अनि बा पनि रुन्छ, हजुरबा पनि रुन्छ, आमा पनि रुन्छ, सबै एकैचोटी रुन्छन्।

यो अविश्वासबाट, यो भरोसा टुटेको ठाउँबाट, यो नौजवानहरूलाई ‘नेपाल बस्न सकिँदैन’ भन्ने मनोविज्ञान बनेको ठाउँबाट बाहिर निकाल्ने जिम्मेवारी कसको? हाम्रो, कांग्रेसको। हामीले गर्नुपर्ने छ।

सहरमा बढेको छ, सहरमा जन्मेको छ, राम्रो विद्यालय पढेको छ, केही गर्छु भन्ने हुटहुटी पनि छ। ‘सबै कुरा सिस्टम ठीक ढंगले चल्नुपर्छ’ भन्ठान्छ एउटा नौजवान। पासपोर्टको लाइन बस्न जान्छ, खल्तीबाट दुई पैसा तिरेपछि मात्रै पासपोर्ट समयमा बन्छ। लाइसेन्सको लाइन लिन बस्छ, दुई वर्षसम्म छापेको लाइसेन्स पाउँदैन। सर्टिफिकेट लिन जान्छ, त्यहाँ पनि चिनेको मान्छे भए मात्र सर्टिफिकेट पाउँछ। अन्तिममा गएर हजुरबालाई लिएर अस्पताल जान्छ, अस्पतालमा पनि चिनेको डाक्टर भयो भने मात्र आईसियुको बेड पाउँछ। अनि त्यो केटा वा केटी, त्यो जेन–जी सबैसँग रिसाउँछ।

किन हाम्रो देश भनसुनको देश भयो? किन हाम्रो देश लेनदेनको देश भयो? किन सबै कुरा सिस्टम फेयरली चल्दैन? किन बाहिरको जस्तो हुँदैन? किन हुन नसकेको? के भयो होला? यो विश्वास गुमाएको यो पुस्तालाई ‘नेपालमा हुन्छ, सिस्टम हामी बनाउँछौँ’ भनेर भरोसा दिलाउने काम हाम्रो हो। हामीले गर्नुपर्ने हो।

पश्चिम मधेसको एउटा गाउँमा केही समय अगाडि कार्यक्रममा गएको थिएँ। नेपाल विद्यार्थी संघले गरेको कार्यक्रम थियो। कार्यक्रमको छेउमा एउटा बुढी आमा बस्नुभएको थियो। उहाँलाई सम्मान गर्न बोलाइयो। सम्मान गर्दै गर्दा उहाँ को भनेर सोधेँ— ‘शहीदको आमा’। कसले मारेको? ६० सालमा माओवादीले छोरा मार्यो। कसरी मार्यो? मैले सोधेँ। सँगैको साथीले बताए— ‘यिनको छोरालाई मार्दै गर्दा खेरि आमाले छोरा मारेको हेर्नुपर्छ भनेर आमाको दुवै हात पछाडि बाँधिएको थियो र छोरालाई अचानोमा राखेर काटियो।’ तर पनि हाम्रो कार्यक्रममा ‘जय नेपाल’ भन्दै आउँछिन्। अहिले पनि हाम्रो कार्यक्रममा ‘जय नेपाल’ भन्दै मञ्चमा आएर बस्नुहुन्छ। देशभरि यस्ता पार्टीका साथीहरू छन्। देशभरि पार्टीका नाममा लखेटिएका छन्, काटिएका छन्।

तिनलाई ‘नेपाली कांग्रेस’ भन्दै गर्दा तिनले के पाउँछन्? छोरा गुमाएका छन्। सांसद खोजेको छ? मन्त्री खोजेको छ? वडा अध्यक्ष खोजेको छ? तर तिनले आज पनि— छोरा काटियो, मारियो, जम्मा एउटा छोरा भएको त्यो थारु आमा म अहिले पनि सम्झन्छु— तर कांग्रेसको मञ्चमा आएर ‘जय नेपाल’ भन्दै गर्दा आज नेपाली कांग्रेस हेर्दै गर्दा उसको आँखा रसाउँछन् कि रसाउँदैनन् होला? त्यो आमालाई खुसी दिने कांग्रेस बनाउनुपर्ने छ।

आज एउटा श्रमिक श्रम गरेर ‘म मेरो परिवार पाल्न सक्छु’ भन्ने आत्मविश्वास राखिरहेको छैन। आज एउटा व्यवसायी व्यवसाय गरेर ‘म ठीक ढंगले अगाडि बढ्न सक्छु’ भन्ने विश्वास राख्न सकिरहेको छैन। जताततै विश्वासको संकट छ। यो सबै ठाउँबाट सम्हालेर निकाल्ने जिम्मेवारी कांग्रेसको। अब आशा दिएर मात्र हुँदैन, त्यो आशा पूरा गर्न सक्ने कांग्रेस बनाउनुपर्ने छ। यो महाधिवेशन त्यसकारणले गर्दा आयोजना गरौँ भनेर हामीले भनेको हो।

यो महाधिवेशनमा जाऔँ, बसौँ, छलफल गरौँ। हाम्रो एक आह्वानमा हिजो माओवादीको त्यत्रो हिंसाबाट प्रताडित भएका मानिसहरू सडकमा आए। हाम्रो एक आह्वानमा हिजो राजाको शासनमा मानिसहरू सडकमा आए। हाम्रो एक आह्वानमा पञ्चायतका विरुद्धमा हजारौँ, लाखौँ मानिसहरू सडकमा आए। आज हामीले कांग्रेसलाई ठीक ठाउँमा उभ्यायो भने हाम्रो एक आह्वानमा फेरि नरनारीहरू हाम्रो पछाडि आउँछन्, विश्वास गर्छन्, माया गर्छन्। त्यो विश्वास डगमगाएको छ अहिले, त्यो विश्वासलाई फर्काउनुपर्ने छ।

त्यसकारणले गर्दा आदरणीय साथीहरू, म नेपाली कांग्रेसको अर्को महामन्त्रीको तर्फबाट पनि तपाईंहरू सबैलाई धन्यवाद दिँदै यो आग्रह गर्न चाहन्छु— हामीले कसैको अपमान गर्ने होइन। हामीले पार्टी सभापति कसैको होइन, हामी पटक-पटक पार्टीको बैठकमा भनेका छौँ— पार्टी सभापति बन्ने, मन्त्री, प्रधानमन्त्री बन्ने… मैले अघि पनि भनेँ गणेशमानको छोरा म होइन, बिपीको छोरा म होइन। मैले पहिला पनि भनेको छु— मेरो शरीरमा गणेशमानको रगत छैन बिपीको रगत छैन तर बिपीको विचार छ गणेशमानको साहस छ। त्यो बोकेर बसेको नि हामी। हामी सबै कुरा छोड्न तयार हौँ।

हामी नेपाली कांग्रेस पार्टीलाई ठीक ठाउँमा उभ्याउनका निम्ति तल कति रमाइलो हुन्छ तपाईंहरूसँग बसेर। यत्रो बेर माथि बस्नुपर्‍यो। भोक लागेको बेलामा साथीले दिनुभएको बिस्कुट र चाउचाउ लुकाएर खानुपर्‍यो। तपाईंहरूसँग बस्न पाएको भए आनन्दले त्यहाँ बसेर बदाम र सुन्तला खान पाइन्थ्यो होला। तपाईंहरूसँगै बस्ने रहर छ। बस्नु छैन धेरै मञ्चमा। त्यो लोभले होइन, त्यो जिम्मेवारीको कारणले गर्दा आज तपाईंहरूलाई बोलाएर यो ठाउँमा आइपुगेका छौँ। यो जिम्मेवारी पूरा गर्न चाहन्छु।

नेपाली कांग्रेसले यो महाधिवेशनबाट अघि महामन्त्री विश्वप्रकाश शर्माले भन्नुभएको जस्तै देशलाई एकपटक भरोसा दिन चाहन्छौँ। हामी त्यही कांग्रेस हो जसले अँध्यारोबाट उज्यालो तर्फ लिएर गयो ७ सालमा। यो त्यही कांग्रेस हो जसले २०४६ सालमा त्यत्रो परिवर्तन गर्‍यो। यो त्यही कांग्रेस हो जसले ६२-६३ मा हिंसाबाट देशलाई बाहिर निकाल्यो। तर अघि भनेको जस्तो विगतको दिन गनेर मात्र हुँदैन, अब हामी भन्न चाहन्छौँ नौजवानहरूलाई— यो त्यही कांग्रेस हो जसले तिम्रो बा-आमालाई अधिकार दियो, तर यो त्यही कांग्रेस हो अब जसले तिमीलाई पनि भविष्य दिन्छ भनेर भन्ने कांग्रेस हामी बनाउन चाहन्छौँ। त्यो विश्वास दिलाउन चाहन्छौँ। त्यो सम्बन्ध फेरि गाँस्न चाहन्छौँ। त्यसका निम्ति पार्टीको अधिवेशनमा आएर त्यसको लागि समीक्षा गर्न चाहन्छु।

त्यसैले म आदरणीय महाधिवेशन प्रतिनिधि साथीहरूलाई अन्त्यमा आग्रह गर्छु— भोलिको समय छ, ठण्डा दिमागले सोचौँ। तपाईंहरूले जे निर्णय गर्नुहुन्छ, त्यो निर्णयलाई स्वीकार गरेर जाने हो। म पार्टीका नेताहरू भोलिको कार्यक्रममा आउनुहुन्छ भन्ने अपेक्षा पनि राख्छु। तर आउने-नआउने उहाँहरूको मर्जी, निर्णय गर्ने तपाईंहरूको मर्जी। तपाईंहरूले गर्ने हो। तपाईंहरूले गरेको निर्णयलाई मान्ने हो। हाम्रा सन्दर्भको बारेमा धेरै चिन्ता नगर्नुस्।

कहिलेकाहीँ युद्ध जित्नको लागि लडाइँ हार्न पनि तयार हुनुपर्छ। लडाइँ हार्नुपर्छ, तयार छौँ। कहिलेकाहीँ ज्वालालाई जागृत राखिराख्नका निम्ति आफू डढ्न पनि तयार हुनुपर्छ, डढ्न पनि तयार छौँ। केका लागि? पार्टीलाई ठीक ठाउँमा उभ्याउनका लागि। नेपाली कांग्रेसलाई ठीक ठाउँमा उभ्याउनका लागि। किन? नेपाली कांग्रेस ठीक ठाउँमा उभिँदा खेरि बल्ल नेपाली कांग्रेसले यो देशप्रतिको आफ्नो जिम्मेवारी पूरा गर्न सक्छ। हाम्रा लागि देश सबैभन्दा ठूलो कुरा हो। हाम्रा लागि यो देशका नागरिक सबैभन्दा ठूला कुरा हुन्। त्यो नागरिकको त्यो भावना, त्यसलाई सम्बोधन गर्नका लागि हाम्रो पार्टी नेपाली कांग्रेस पार्टीलाई ठीक ठाउँमा उभ्याउनका निम्ति यत्रो जोखिम मोलेर देशभरिका साथीहरू आउनुभएको छ।

यो अवसर पनि हो, यो हाम्रो निम्ति ठूलो एउटा चुनौती पनि हो। अवसर र चुनौतीका बीचमा भोलि एक दिनको समय बिहान ८ बजे हामी जम्मा हुन्छौँ। हामी दिनभरि छलफल गर्छौँ। त्यो छलफलबाट हलले जे-जे कुरा नेपाली कांग्रेस पार्टीमा स्थापना गर्ने भन्छ, त्यो-त्यो कुरा स्थापना हुन्छ। किनकि कांग्रेसको विधानले भन्छ— महाधिवेशन भन्दा ठूलो अरू केही पनि छैन। महाधिवेशनले चाह्यो भने नेता पनि छान्छ, महाधिवेशनले चाह्यो भने नेता बदल्छ पनि। महाधिवेशनले चाह्यो भने नीति पनि छान्छ, नीति बदल्छ भी। महाधिवेशनले चाह्यो भने विधान पनि बदल्छ। त्यो अधिकार राख्ने महाधिवेशनको बेला हो यो।

सुवर्ण शमशेरले २०१४ सालमा पार्टी सभापति हुँदाहुँदै— मेरो श्रद्धेय सभापति, श्रद्धेय शेरबहादुर देउवालाई सम्झाउन चाहन्छु— पार्टी सभापति हुँदाहुँदै आफैँले विशेष महाधिवेशन आयोजना गरेर, आफैँले राजीनामा दिएर, आफैँले आयोजना गरेर— ‘मेरो श्रद्धेय मित्र बिपी कोइरालालाई आजबाट म नेपाली कांग्रेसको सभापति घोषणा गर्दछु’ भन्दै गर्दा आँखाभरि आँसु लिएर, आँखाभरि आँसु लिएर बिपी कोइरालाले ‘यसो नगर्नुस् सुवर्णजी, तपाईं नै रहनुपर्छ’ भनेर इतिहास पढेर आएका मानिस हौँ हामी।

कुनै लोभ-लालचले होइन, पार्टीप्रतिको मायाले हो यो। किनकि यो पार्टीले नै देशको जिम्मेवारी पूरा गर्न सक्छ भन्ने विश्वासले हो। यही विश्वासका साथ तपाईंहरू आउनुभएको छ, यत्रो उपस्थितिले हामी सबका हौसला बढाएको छ। भोलि हामी महाधिवेशनका साथीहरू जम्मा हुन्छौँ र बसेर एउटा परिपक्व र पार्टीको लागि रूपान्तरणकारी निर्णय गर्छौँ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

निर्वाचन आचारसंहिता लागू, सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि कडाइ

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२: आजदेखि ठूला सभा-जुलुस गर्न पाइने

टी-२० विश्वकप: वेस्ट इन्डिजसँग हारेसँगै नेपाल बाहिरियो

टी-२० विश्वकप: वेस्ट इन्डिजसँग हारेसँगै नेपाल बाहिरियो

एनएमसी र केसीसी विच रेडियोथेरापी सेवाका लागि समझदारी

एनएमसी र केसीसी विच रेडियोथेरापी सेवाका लागि समझदारी

कर्णाली प्रदेशका लागि मतपत्र पठाइयो

कर्णाली प्रदेशका लागि मतपत्र पठाइयो

बंगलादेशमा निर्वाचनबाट विजयी बीएनपी दललाई प्रधानमन्त्री कार्कीले दिइन् बधाई

बंगलादेशमा निर्वाचनबाट विजयी बीएनपी दललाई प्रधानमन्त्री कार्कीले दिइन् बधाई

इटलीसँग नेपाल १० विकेटले पराजित

इटलीसँग नेपाल १० विकेटले पराजित

ताजा समाचार

निर्वाचन आचारसंहिता लागू, सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि कडाइ

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२: आजदेखि ठूला सभा-जुलुस गर्न पाइने

टी-२० विश्वकप: वेस्ट इन्डिजसँग हारेसँगै नेपाल बाहिरियो

टी-२० विश्वकप: वेस्ट इन्डिजसँग हारेसँगै नेपाल बाहिरियो

एनएमसी र केसीसी विच रेडियोथेरापी सेवाका लागि समझदारी

एनएमसी र केसीसी विच रेडियोथेरापी सेवाका लागि समझदारी

कर्णाली प्रदेशका लागि मतपत्र पठाइयो

कर्णाली प्रदेशका लागि मतपत्र पठाइयो

बंगलादेशमा निर्वाचनबाट विजयी बीएनपी दललाई प्रधानमन्त्री कार्कीले दिइन् बधाई

बंगलादेशमा निर्वाचनबाट विजयी बीएनपी दललाई प्रधानमन्त्री कार्कीले दिइन् बधाई

इटलीसँग नेपाल १० विकेटले पराजित

इटलीसँग नेपाल १० विकेटले पराजित

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host