काठमाडौं । गैरसरकारी संस्था महासंघ नेपालले नेपालका प्रमुख शहरहरूमा तीव्र रूपमा बढिरहेको वायु प्रदूषणको विषयमा गम्भीर चिन्ता व्यक्त गर्दै सरकारलाई तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरेको छ ।
एक विज्ञप्ति जारी गर्दै महासंघले वायु प्रदूषणले नागरिकको स्वास्थ्यमा गम्भीर असर पुर्याएको र विशेषगरी बच्चा र वृद्ध व्यक्तिहरूको स्वास्थ्य जोखिममा परेकोले प्रदूषणको नियन्त्रणमा तात्कालिक र दीर्घकालीन उपायहरू लागू गर्न अपील माग गरेको छ ।
महासंघले जारी गरेको विज्ञप्तिमा वातावरण प्रदूषण विश्व स्वास्थ्य संगठनका मापदण्डभन्दा धेरै गुणा बढी पुगेको उल्लेख गर्दै यसले आमनागरिक, विशेषगरी बालबालिका, महिला, वृद्ध, अपांगता भएका व्यक्ति र बिरामीहरूलाई उच्च जोखिममा पारेको उल्लेख छ ।
सरकारले २०७६ मा बनाएको ‘वायु गुणस्तर व्यवस्थापन कार्ययोजना’लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने माग गर्दै महासंघले संविधानको धारा ३० र वातावरण संरक्षण ऐन, २०७६ मा उल्लेखित नागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सुनिश्चित गर्न सरकारसँग अपिल गरेको छ ।
महासंघले सबै सरोकारवाला निकाय र आमनागरिकलाई वातावरणमैत्री व्यवहार अपनाउन पनि अनुरोध गरेको छ ।












