काठमाडौं । प्रतिनिधिसभा निर्वाचन ०८२ अन्तर्गत समानुपातिकतर्फ निर्वाचित हुने सांसद छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको छ।
फागुन २१ मा सम्पन्न निर्वाचनपछि प्रत्यक्षतर्फको १६५ सिटको नतिजा र समानुपातिक मतगणना सकिएसँगै निर्वाचन आयोगले दलहरूलाई प्राप्त सिट संख्या निर्धारण गरेर बन्दसूचीबाट नाम सिफारिस गर्न पत्राचार गरिसकेको छ।
दलहरूले यसअघि नै पुस १३ र १४ गते समानुपातिक उम्मेदवारको बन्दसूची आयोगमा बुझाइसकेका थिए। अब आयोगले तोकेको सिट संख्याअनुसार थ्रेसहोल्ड कटाएका ६ दल राष्ट्रिय स्वतन्त्र पार्टी, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाले आफ्नो सूचीबाट प्राथमिकता क्रममा नाम पठाउनेछन्।
आयोगले प्राप्त नामहरू समावेशी क्लस्टरअनुसार मिलेको–नमिलेको परीक्षण गरेर प्रमाणपत्र वितरण गर्नेछ। यो प्रक्रिया निर्वाचन ऐन २०७४ र समानुपातिक निर्वाचन निर्देशिका २०८२ अनुसार अघि बढिरहेको आयोगले जनाएको छ।
समानुपातिक प्रतिनिधित्वमा जनसंख्याको अनुपातअनुसार दलित १३.४४ प्रतिशत, आदिवासी जनजाति २८.७२ प्रतिशत, खस आर्य ३०.२८ प्रतिशत, मधेशी १६.१५ प्रतिशत, थारू ६.५२ प्रतिशत र मुस्लिम ४.८९ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने व्यवस्था छ। त्यसैगरी प्रतिनिधिसभामा समग्र महिला प्रतिनिधित्व कम्तीमा ३३ प्रतिशत अनिवार्य भएकाले प्रत्यक्षतर्फ कम भएका समूहलाई समानुपातिकबाट समेट्नुपर्ने हुन्छ।
अपाङ्गता भएका व्यक्ति र पिछडिएको क्षेत्रका उम्मेदवारलाई पनि प्राथमिकतामा राख्ने प्रावधान छ। प्रत्यक्ष निर्वाचित सांसद र राष्ट्रियसभाको प्रतिनिधित्व हेरेर आयोगले प्रत्येक दललाई कुन क्लस्टरबाट कति नाम पठाउनुपर्ने भन्ने निर्धारण गरेको छ।
आयोगले दलहरूलाई तीन दिनको समय दिएर पत्र पठाइसकेको छ। नेपाली कांग्रेसले नाम बुझाउने तयारी गरेको जनाएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एमाले) लगायत अन्य दलहरूले पनि म्यादभित्र नाम पठाउने तयारी गरेका छन्। रास्वपा र एमालेको सचिवालय बैठक शनिबार बस्दैछ।
आयोगले सेन्ट-लाग्यू सूत्रअनुसार समानुपातिक सिट बाँडफाँट टुंग्याइसकेको छ। त्यसअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ५७ समानुपातिक र १२५ प्रत्यक्षसहित १८२ सिट लिएर सबैभन्दा ठूलो दल बनेको छ। नेपाली कांग्रेसले २० समानुपातिक र १८ प्रत्यक्षसहित ३८ सिट पाएको छ। एमालेले १६ समानुपातिक र ९ प्रत्यक्षसहित २५ सिट, नेकपाले ९ समानुपातिक र ८ प्रत्यक्षसहित १७ सिट, श्रम संस्कृति पार्टीले ४ समानुपातिक र ३ प्रत्यक्षसहित ७ सिट तथा राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ समानुपातिक र १ प्रत्यक्षसहित ५ सिट प्राप्त गरेका छन्। एक स्वतन्त्र उम्मेदवार प्रत्यक्षतर्फ निर्वाचित भएका छन्।
२७५ सदस्यीय प्रतिनिधिसभामा दुई तिहाइ बहुमतका लागि १८४ सिट आवश्यक पर्नेमा राष्ट्रिय स्वतन्त्र पार्टी दुई सिटले पछाडि परेको छ।
समानुपातिक सूची अन्तिम रूपमा प्रमाणित भएपछि आयोगले निर्वाचित सांसदको अन्तिम नामावली सार्वजनिक गर्नेछ र त्यसपछि नयाँ संसद् अधिवेशन बोलाउने प्रक्रिया अघि बढ्नेछ।












