काठमाडौं। गत २१ फागुनमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम धमाधम आइरहेको छ।
०७९ को चुनावबाट उदाएको रास्वपाले यसपटक शानदार प्रदर्शन गर्दा काग्रेस, एमाले, नेकपा लगायत दल साना दलका रुपमा खुम्चिएका छन्।
प्रत्यक्षतर्फको १६५ निर्वाचन क्षेत्रमध्ये रास्वपाले १०७ सिट जितिसकेको छ भने १७ क्षेत्रको मतगणनामा अगाडि छ। त्यस्तै, अघिल्लो संंसदको पहिलो दल कांग्रेसले १५ सिट जितेको छ। २ क्षेत्रमा अग्रता छ। एमालेले सात सिट जितेको छ भने चार ठाउँमा अग्रता छ। नेकपाले पाँच सिट जित्दा दुई ठाउँमा अगाडि छ।
म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी भएका छन्, ज्ञानेन्द्र शाहीले जुम्लाबाट राप्रपाको बिउ जोगाएका छन्। यसबाहेक पूर्वी नेपालबाट श्रम संस्कृति पार्टी उदाएको छ।
०७९ को चुनावमा स्वतन्त्र उम्मेदवारी दिएर धरान उपमहानगरका मेयर बनेका हर्क साम्पाङ नेतृत्वको यो दलले खोटाङ १ मा जित निकालेको हो। २९ वर्षीय युवा आरेन राई सांसद बनेका छन्। यसबाहेक सुनसरी १ मा हर्क साम्पाङ जित नजिक छन् भने भोजपुर १ मा ध्रुवराज राई पनि मतगणनामा अगाडि छन्।
तर, मधेश आन्दोलनबाट उदाएका र मधेशको शक्तिका रुपमा रहँदै आएका जसपा, जनमत लगायत दल भने यसपटक बिलाएका छन्। ३२ निर्वाचन क्षेत्र रहेको मधेशमा रास्वपा एकलौटी जितिरहेको छ।












