काठमाडौं । आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गर्दा घाइते भएकी महिलाको मृत्यु भएको छ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८, किरातचोकमा बस्दै आएकी ३८ वर्षीया कमला आचार्यको मृत्यु भएको हो ।
चितवनको रत्ननगर नगरपालिका–१२ की आचार्यले शनिबार शरीरमा पेट्रोल छर्केर आगो लगाएकी थिइन् । उनलाई प्रहरीले शनिबारै उद्धार गरेको थियो । बा३५प ५८१८ नम्बरको स्कुटरमा आएर वाग्मती नदी किनारनजिकको खाली जग्गामा उनले आफूमाथि आगो लगाएकी थिइन् ।
जलेर गम्भीर घाइते भएकी उनलाई उपचारका निम्ति साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा लगिएको थियो । उपचारका क्रममा आइतबार बिहान उनको मृत्यु भएको प्रहरी वृत्त बानेश्वरका डीएसपी वीरेन्द्र गोद्दारले जानकारी दिए ।
कमलाका १३ र तीन वर्षीय दुई छोरा छन् । उक्त घटनास्थलनजिकै ‘सुसाइड नोट’ समेत फेला परेको थियो । त्यसमा उनले आफूखुसी आगो लगाएकाले कसैलाई दोष नदिन आग्रह गरेकी छन् ।












