काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा जनता भन्दा ठूलो कोही नभएको बताएका छन्। बुधबार काठमाडौंमा स्व. प्रदीप गिरीको स्मृति सभालाई सम्बोधन गर्दै उनले जनताको मत र सांसदहरूको सहयोगले नै आफू प्रधानमन्त्री बन्न सफल भएको बताए।
सभापति देउवाले भने, “म जहाँ छु, जनताले भोट हालेर पठाएको र पार्टीका सांसदहरुले सहयोग गरेकाले प्रधानमन्त्री बनेको हुँ। अहिलेसम्म मैले प्रत्यक्ष निर्वाचनमात्रै लडेको छु र कहिले हार्न सकेको छैन। धेरै पार्टीका नेताहरु मेरो विरुद्ध लाग्नुभयो, तर जनता र सौभाग्यले मलाई जिताइरहेको छ। जनता सबैभन्दा ठूलो हुन्। उनीहरूको सेवा गर्नु सबैको कर्तव्य हो।”
उनले सबै राजनीतिक दलका नेता तथा कार्यकर्तालाई जनताको सेवा गर्न जोड दिँदै भने, “जनताको लागि काम गर्नु नै हाम्रो सर्वोच्च जिम्मेवारी हो। जनता देशको मालिक हुन्, र जनता भन्दा ठूलो कोही छैन।”












