काठमाडौं । प्रमुख सत्तारूढ दलहरू नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूबीच आज बालुवाटारमा बसेको छलफल सकिएको छ। बैठकमा संसद्मा विचाराधीन विधेयकहरू, कानुन संशोधनका विषयमा विशेष रुपमा छलफल गरिएको छ।
बैठकमा महान्यायाधिवक्ता रमेश बडालले सम्बद्ध विधेयक र कानुनी प्रक्रियाबारे जानकारी गराएका थिए। यद्यपि, मन्त्रिपरिषद् हेरफेरका विषयमा छलफल हुने अनुमान गरिएको भए पनि बैठकमा यसबारे कुनै औपचारिक कुरा नभएको बैठक स्रोतले जनाएको छ।
छलफलका क्रममा नेकपा एमालेले बागमती प्रदेशमा देखिएको पछिल्लो सत्ता समीकरणको विवादप्रति चासो राखेको थियो। एमालेको चासोमा कांग्रेसले उक्त विषयलाई आफ्नो आन्तरिक मामिला भन्दै समाधान गर्ने जवाफ दिएको कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए।
बागमती प्रदेशमा मुख्यमन्त्री बहादुर सिंह लामालाई हटाउने तयारीस्वरूप कांग्रेस संसदीय दलले इन्द्रबहादुर बानियाँलाई नेता चयन गरिसकेको छ। यस विषयमा पनि बैठकमा केहीबेर छलफल भएको थियो।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल र महान्यायाधिवक्ता रमेश बडाल सहभागी थिए।












