काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषामा कार्यरत एक सशस्त्र प्रहरी निरीक्षकलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ।
आयोगका अनुसार जिल्ला धनुषास्थित सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत सुरक्षा बेस नक्टाझिजमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक वकिल अधिकारीले कमला–ढल्केवर–बाग्मती सडक निर्माण खण्डअन्तर्गत माटो तथा ग्राभेल फिलिङ कार्यमा प्रयोग हुने सवारीसाधन सञ्चालनमा अवरोध सिर्जना गर्दै सेवाग्राहीसँग घुस मागेका थिए।
निर्माण कार्यमा संलग्न सवारीसाधनहरू रोकेर फिल्डमा माटो तथा ग्राभेल झार्न नदिने, विभिन्न बहाना बनाई दुस्ख हैरानी दिने तथा काम प्रभावित बनाउने गरी उनले सेवाग्राहीसँग रकम माग गरेको सूचनाका आधारमा अख्तियारको बर्दिवास कार्यालयबाट खटिएको टोलीले निगरानी थालेको थियो।
त्यसक्रममा निरीक्षक अधिकारीलाई सेवाग्राहीबाट ४० हजार घुस लिइसकेको अवस्थामा जिल्ला धनुषाको मिथिला नगरपालिका–१० लालगढबाट नियन्त्रणमा लिइएको आयोगले जनाएको छ।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार नियन्त्रणमा लिइएको रकमसमेत बरामद गरिएको छ भने घटनाबारे थप अनुसन्धान जारी छ।












