काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले लामो समयदेखि सत्तामा रहेका नेताहरुको सम्पत्ति छानबिन गरी कारबाही गर्न आवश्यक भएको बताएका छन्।
हालै नेसपा नयाँ शक्तिबाट राजीनामा दिएका डा. भट्टराईले बुधबार पत्रकार सम्मेलनमा उक्त माग राखेका हुन्। उनले भने, ‘भ्रष्ट नेताहरुको सम्पत्ति छानबिन नगरे पुनः उनीहरू अवैध पैसाबाट निर्वाचन जितेर आउँछन्।’
डा. भट्टराईले जेनजी आन्दोलन ००७ सालदेखिको क्रान्तिको निरन्तरता भएको बताए। उनले जेनजी समूहलाई कमजोर नहुन पनि आग्रह गर्दै भने, ‘तपाईँहरु कमजोर हुने बित्तिकै पुराना शक्तिहरु पुनः अघि बढ्छन्। कुनै बहानामा पुराना शक्तिहरुसँग झुक्नु भए इतिहासले समीक्षा गर्छ।’
उनले राजनीतिक कोर्ष परिवर्तन भए पनि पुराना दलहरु-कांग्रेस, एमाले र माओवादी-को नेतृत्व सच्चिने अवस्थामा नरहेको बताए।
राजीनामा दिएपनि डा. भट्टराईले आन्दोलन र वैकल्पिक राजनीतिक बाटोबाट पछि हटेको छैन भने। उनले नयाँ पुस्तालाई राजनीति अगाडि बढाउने अवसर दिनुपर्नेमा जोड दिए।
‘नैतिक हिसाबले नवयुवाले ढोका ढक्ढकाइसके। हाम्रो पुस्ताले उनीहरुलाई बाटो दिनुपर्छ,’ उनले भने। साथै, उनले जेनजी आन्दोलनपछि सत्ता गुमेका नेताहरु बाह्य हस्तक्षेप देखाएर भ्रम फैलाउन खोजेको आरोप पनि लगाए।












