काठमाडौं । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले संसद् पुनर्स्थापना गरेर जेन–जी आन्दोलनले उठाएका माग सम्बोधन गर्नुपर्ने बताएका छन् । उनका अनुसार मुलुकलाई अस्थिरतामा लैजान चाहनेहरूले मात्र संसद् पुनर्स्थापनाको मुद्दा अस्वीकार गर्छन् ।
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन पार्टी कार्यालय सानेपा पुगेका डा. भण्डारीले सञ्चारकर्मीसँग कुरा गर्दै संविधान संशोधन नगरी जेन–जीका माग पूरा गर्न नसकिने बताए ।
“संविधानमा रहेका केही प्रावधान परिमार्जन नगर्दासम्म जेन–जीले उठाएका मुद्दा सम्बोधन हुन सक्दैनन्,” विघटित प्रतिनिधि सभाका सदस्य समेत रहेका डा. भण्डारीले भने, “संविधान संशोधनका लागि संसद् पुनर्स्थापना नै सबैभन्दा उपयुक्त विकल्प हो। संशोधन नगर्ने हो भने चुनाव गरेर मात्र समाधान निस्कँदैन।”
उनले विद्यमान निर्वाचन प्रणालीले कुनै पनि दललाई स्पष्ट बहुमत दिन नसकेको उल्लेख गर्दै समानुपातिक प्रणालीका कारण नेताहरूले आफ्ना नजिकका मान्छेलाई संसद् र मन्त्री बनाउन सजिलो भएको टिप्पणी गरे ।
भण्डारीका अनुसार यो प्रणाली कायम रहेसम्म जेन–जी आन्दोलनले माग गरेका राजनीतिक सुधार सम्भव छैन र त्यसका लागि गहिरो संरचनात्मक परिवर्तन आवश्यक छ ।












