काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आउँदो शनिबार बुटवलमा लुम्बिनी प्रदेशस्तरीय वृहत् आमसभा गर्ने भएको छ । ‘अवस्था बदल्न व्यवस्था बदलौं’ भन्ने नारासहित राप्रपा लुम्बिनी प्रदेशको आयोजनामा बुटवलमा शक्ति प्रदर्शन गर्न लागिएको हो ।
राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप उदयले सातै प्रदेशमा पार्टीले आयोजना गरेको कार्यक्रम अन्तर्गत शनिबार जनजागरणको रूपमा सभा गर्न लागिएको जानकारी दिए । सभामा पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्षद्वय विक्रम पाण्डे, ध्रवबहादुर प्रधान, महामन्त्री धवल शमशेर राणा, प्रवक्ता ज्ञानेन्द्र शाही लगायतका नेताले सम्बोधन गर्नेछन् ।
ट्राफिक चोकमा गरिने सभामा हजारौं नागरिकको सहभागिता हुने राप्रपाको दाबी छ । सातै प्रदेशका मुख्य शहरमा सभा गर्ने राप्रपाले गएको माघ ११ गतेको बैठकबाट निर्णय गरेको थियो ।












