न साथी सहयात्री समेटेर हिँड्यौ
न त विरोधी, विपक्षीलाई सपेटेर लग्यौ
पुग्यौ सत्ताको सिंहासनमा जसै, आफै उक्लिएको सिंढी बिर्सियौ ।
ती वीर शहीद अनि आन्दोलनका सहयात्रीको सिंगो पिँढी बिर्सियौं ।
न अग्रजका त्याग र संघर्षका नालिबेली सम्झियौ
न नीति विचार र सिध्दान्तका ठेली सम्झियौ ।
पायौ कुर्सिको न्यानो जसै सारथी, सहकर्मीको न्यानो आत्मियता बिर्सियौ ।
लोकतन्त्रको लडाइँका ती सहयोध्दाहरु, को आफ्नो को बिरानो सबै बिर्सियौ ।
न त देशको मुहार फेरियो, न जनताको दुःख हेरियो ।
सत्ताको सुख सयलका अगाडि केवल तिम्रो व्यवहार फेरियो ।
आफैभित्र घात अन्तर्घात र प्रतिशोधका नयाँ श्रृंखलाहरु लेखियो ।
हिजोको बलिदानी आदर्श र सदाचारलाई तिलाञ्जली दिएको देखियो ।
देशको मुहार फेर्छु भनेर क्रान्तिमा हिँडेको योध्दा, आफैँ बदलिएको देख्दा
क्रान्ति, बलिदान र परिवर्तनको गाथा गाउँदै हिँडेको साथी स्वार्थको भूमरीमा रमाएको देख्दा
बाटो बिर्सियौकी कतै भनी मनको बह पोख्दैछु
परदेशबाट प्रिय साथीलाई यो पत्र लेख्दैछु ।
बीपीले भनेझैँ यो देशको एकमुठी माटो हातमा लिएर हेर
गणेशमान र सुवर्णका त्यागका किस्सा एकपटक सम्झिएर हेर ।
परिकल्पना पद्धतीको दिशा बदल्छु भन्ने किसुनजीको कर्मयोगी शिष्य हौं तिमी
गौरवमय इतिहासले सुशोभित समाजवादी आकाशको चम्किलो तारा हौं तिमी ।
त्यसैले साथी यो देशले फेरि विकास र समृद्धिको नायकत्व खोजिरहेछ । धेरैलाइ आफूमा अटाउन सक्ने विशाल छहारीझै अभिभावकत्व खोजिरहेछ ।
साथी हरेक नेपालीले जस्तै मलाइपनि मेरो देशमा शान्तिका फूलहरु ढकमक्क फुलेको हेर्न मन छ ।
विकास र समृद्धिका सुनौला किरणहरु चारैतिर फैलिएको हेर्न मन छ ।
थोरै चाहना र थुप्रै बाध्यता बोकेर परदेशिएको म जस्ता असंख्य साथीहरु, समुन्नत नेपालमा फर्किएर बाँच्न मन छ ।
सम्मानित नेपाली भएर मर्न मन छ ।












