काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा मधेश प्रदेशका जिल्लामा एकपछि अर्काे लफडा हुन थालेका छन्। सामाजिक सदभाव नै खलबलाउनेगरी हिन्दु, मुस्लिमलाई भिडाउन थालिएको छ। त्यसका पछिल्ला उदाहरण हुन् रौतहटको गौर र पर्साको वीरगन्ज।
विवाहमा चर्काे स्वरमा डिजे बजाएको आरोपमा गौरमा हिन्दु र मुस्लिम समुदायबीच विवाद हुँदा तीन दिन कर्फ्यु लाग्यो। तर, नागरिक समाजको अगुवाइमा सोमबार बिहान गौर नगरापलिका ६ सबगढामा शान्ति सद्भाव र्याली निकालेर कर्फ्यु हटाइएको छ।
तर, फेरि वीरगन्जमा कर्फ्यु लागेको छ। जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रमा सोमबार बिहान पौने १० बजेदेखि अर्को आदेश नभइसम्मका लागि कर्फ्यु लगाइएको हो। प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्म कर्फ्यु छ। यी चार किल्ला भित्र कसैले आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक र घेराउ लगायतका गतिविधि गर्न रोक लगाइएको छ। वीरगन्जमा आइतबार साँझ झडप भएको थियो।












