काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले गणतन्त्रको कार्यान्वयनमा संकट आएको बताएका छन् । बिहीबार बुटवलमा आयोजित अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले गणतन्त्रभन्दा पछाडि फर्किने ठाउँ नभए पनि यसको रुपान्तरण नगरी विकास सम्भव नभएको तर्क गरे ।
जनताले लडेर ल्याएको गणतन्त्रमा सीमित वर्गले फाइदा उठाइरहेको उनको भनाइ छ । नेता चन्दले मुट्ठीभरका मानिसले अर्थतन्त्रको बोनस बाँडिरहेको भन्दै कैयौँ नेपालीको भान्सामा बल्न नसकेको चुल्होप्रति यो व्यवस्थाका हिमायतीले बेवास्ता गरेको बताए । उनका अनुसार यही व्यवस्थाको बेथिति सुधार्न नसके थप समस्या भोग्नुको विकल्प नरहेको तर्क गर्दै दलहरूले बेलैमा चेत्नुपर्ने सुझाव दिए ।
बुटवलबाट समाजवादी यात्रामा हिँडेका कम्युनिस्टहरूको एउटै पार्टी बनाउने यात्रा सुरु भएको बताउँदै उनले भने, ‘एउटै कम्युनिस्ट पार्टी बनाउने सपना छ, यो त्यति सजिलै पूरा हुँदैन कि । तर, निरन्तर लाग्नुको विकल्प छैन ।’












