काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा बाँकी रहेका साक्षीहरूलाई भदौ ११ गतेभित्र बकपत्र गराउन आदेश दिएको छ।
न्यायाधीश ध्रुवराज कार्कीको इजलासले फौजदारी कार्यविधि संहिताको दफा ११२ बमोजिम यस्तो आदेश जारी गरेको हो। अदालतका सूचना अधिकारी दीपक श्रेष्ठका अनुसार, बाँकी साक्षीहरूको बयान लिन प्रक्रिया अघि बढाउन अदालतले स्पष्ट निर्देशन दिएको छ।
यो बहुचर्चित मुद्दामा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, प्रतीक थापा, तत्कालीन गृहसचिव टेकराज पाण्डेसहित ३६ जना प्रतिवादी छन्।
प्रतिवादीहरू विरुद्ध ठगी, लिखत किर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधसम्बन्धी आरोप लगाइएको छ। रायमाझी र पाण्डेसहित केही प्रतिवादी हाल थुनामा छन् भने खाणसहितका केही व्यक्ति मुद्धा बहस बाहिरबाट गरिरहेका छन्।












