जो कोही आज भन्दा कम्तिमा पनि २५/३३ वर्ष पहिला भीमबहादुर जीको गाउँ पुगेका हुन्, उनले मात्र बुझ्न सक्छ कि कति दुरूह तथा अन्कन्टार रहेको थियो त्यो गाउँ ! त्यहाँ पुग्ने बाटो ।
कल्पना गर्नुस् तेस्तो दुरूह ठाउँका भीमबहादुर जीलाई उहाँको पिताले आज भन्दा ७०/७५ वर्ष अघि राम्रो र उच्च अंग्रेजी शिक्षाका लागि कालिम्पोंग पठाएका थिए । एक अपठित पिताका लागि अंग्रेजी शिक्षाको कत्रो अर्थपूर्ण महत्वको आँकलन थियो–भीमबहादुरलाई कालिम्पोंग पठाउनुबाट नै बुझिन्छ ।
वास्तवमा ज्ञान, शिक्षा र सम्पति सदैव, सबै समयमा मानिसको खोजीको विषय रहि आएको हो । शिक्षालाई ज्ञानको सन्दर्भमा त हेरिन्छ नै । तर, शिक्षा धनको आर्जन तथा तेसको विस्तारको पूर्वाधार पनि हो भन्ने कुरा उत्तिकै बिर्सन नसकिने तथ्य हो ।
ठूल्ठूला तपस्वी र योगीहरूमा विद्यमान रहने शिक्षा प्राप्तिको यो जिजीविषा त्यस जमानामा भीमबहादुरका पितामा अवश्य पनि रहेको कुरा विर्सन सकिन्न । भीमबहादुर शिक्षा र ज्ञानको खोजीमा रहनुभयो तर धनार्जनमा उहाँको ध्यान गएन । यसमा उहाँ अपवाद रहनुभयो ।

एक दिन उहाँले मलाई विज्ञान, गणित र अंग्रेजी पढाउने शिक्षकको खोजी गरिदिन भन्नुभयो, सँगै उहाँले मलाई सुझाउनु भयो, मधेशबाट यस्तो शिक्षक ल्याउँदा पिछडिएका समाजका गरिब मानिस खोज्नु होला ।
सके सम्पन्न परिवारका र उच्च कहलिन जातहरूका मानिस नलिइ आउनु होला । उहाँले भन्नुभयो, यिनीहरूमा अलिकति भोग विलासको स्वभाव हुन्छ, अन्कन्टार पहाडी भागमा आउँदा शिक्षणको साथै चेलिबेटीतिर बढी झुकाव राख्छन् ।
यसबाट बडो बदनामी हुन जान्छ । लामो समय बस्दैनन् । यसरी उहाँमा गहिरो सामाजिक सावधानी, चेत र दायित्वको बोध थियो । आज पनि दोलखा जिल्लामा कैयौं यस्ता शिक्षकहरू छन्, जो मधेशबाट त्यहाँ गइ सामाजिक अन्तरघुलनको नमूना भएका छन् ।
यसैमध्येका एक रामजीवन सिंह त दोलखाबाट संसदको शायद राष्ट्रिय सभामा समेत प्रतिनिधित्व गरेका थिए । यसरी विभिन्न व्यक्तिहरूका सहयोगबाट दोलखामा मात्र हैन रामेछाप जिल्लाका विभिन्न विद्यालयहरूमा अन्तरसामुदायिक शिक्षकहरू पुग्न सक्यो । हालका समयमा यस्ता शिक्षकहरूको सोच बढी सामाजिक सामन्जस्यपूर्ण छ । कुरो त सामान्य हो । तर, यसको सन्देश व्यापक छ ।
भीमबहादुर तामाङ दुरूह भूभागबाट आएका भए पनि उच्च शिक्षामा लगाव, विद्यार्थी र महिलाहरूको क्षमता विकासमा योगदान, तथा समाजप्रति उत्तरदायित्वले उनी असाधारण बौद्धिक व्यक्तित्व थिए।
शिक्षा भीमबहादुर जीका लागि ठूलो प्राथमिकताको क्षेत्र रह्यो । साथीभाईका छोरा छोरीको पढाइका लागि मद्दत पु¥याउन उहाँसँग पर्याप्त समय रहन्थ्यो ।
पूर्वसभामुख दमननाथ ढुंगाना लगायत कयौं नाम चलेका तर बेफुर्सदी मानिसहरूका छोराछोरीको शिक्षाको केही जिम्मेवारी उहाँले लिनुभएको थियो ।
दार्जिलिङ, कालिम्पोंग, कर्सियांग र सिक्किमका स्कूलहरूमा भर्ना गराउनु र छुट्टीहरूमा लिइ आउने जिम्मेवारीलाई बडो सहजताका साथ भीमबहादुर जीले निर्वाह गर्नुहुन्थ्यो ।
साधारण झै लाग्ने यो कुरो असाधारण थियो । शिक्षा प्रतिको उहाँको यो सहयोगात्मक भावको मर्म बुझ्न मैले उहाँको पिता जीको उल्लेख गरेको हुँ ।
एउटा रोचक प्रसंगको उल्लेख गर्छु । लामो कारावास पछि बिपी कोईराला बाराणसीको मेहबुरगंजमा बस्नु भएको थियो ।
सुशील कोईराला, चक्र बास्तोला, बीरेन्द्र दाहाल र भीमबहादुर जी त्यहि रहनु हुन्थ्यो । त्यो बडो कठिन समय थियो । बिपीले सशस्त्र प्रतिरोधको कार्यनीति लिनुभएको थियो ।
नेपालबाट सरकारी सन्यन्त्रको आँखा छलेर नेपाली कांग्रेसका मानिसहरू बिपीलाई भेट्न बाराणसी पुग्ने गर्दथे । उनीहरूको आउने र जाने तरिका बडो गोप्य तरिकाको हुन्थ्यो ।
बाराणसीमा बस्ने धेरै जसो कम्युनिस्टहरू पञ्चायति सरकारको जासुसी गर्दथे । उनीहरू बहसका लागि बिपी कहाँ आउँथे र नेपाल फर्की जाने कांग्रेसीहरूका बारेमा नेपालतिर खबर पठाउने गर्दथे । यी सब कुरालाई विचार गरेर नेपालबाट आउनेलाई सुरक्षित बास स्थलसम्म र फर्किने बेलामा रेल रिजर्वेशन गराइ गन्तव्यतिर पठाउने जिम्मा भीमबहादुरको थियो ।
मुगलसराय रेलवे जंक्सनका पुलीसले उहाँको यस राजनीतिक भूमिकालाई बुझेका थिएनन् । हर समय स्टेशनमा रेल टिकट खरीद गर्ने तर आफु स्वयंले यात्रा नगरी अरूलाई रेल चढाउने गरेको उहाँको भूमिकालाई रेल पुलिसले ‘टिकट दलाल’को रूपमा बुझ्न थालेका थिए । एक दिन गुल्मी अर्घाखाचीतिरका साथीहरूलाई रेल चढाउन मुगलसराय स्टेशन गएको भीमबहादुर जी साँझपख फर्किनु भएन । बिपी लगायत सबैलाई अनेकन दुष्चिन्ताले व्यंग्र बनायो । व्यापक खोजतलाश भयो ।
नेपाली कांग्रेसको सशस्त्र प्रतिरोधलाई वैचारिक रूपले समर्थन गरे पनि, आफू हिंसात्मक कारबाहीमा सरिक नहुने भन्ने स्वीकारोक्ति, बाेपीलाई थुप्रै रणनीतिक सहयोग, र तर्कपूर्ण विमर्शले उनी विवेकी र नैतिक राजनीतिज्ञ थिए।
तीन दिनपछि मुगलसराय रेल्वे स्टेशनका पुलिसबाट थाहा भयो कि एक जना टिकटका दलाल जो नेपाली हुन् रेलवेका थुनामा छन् । भीमबहादुर रेलवे पुलिसको नजरमा चढेका थिए, उनीहरूलाई लागेको थियो कि यो नेपाली रेलवे टिकट ब्ल्याकमा बेच्ने गर्छन् ।
यसरी भीमबहादुर थुनिए र उहाँको परिचय खुलेपछि रिहा गरिए । यो कुरो धेरै पछिसम्म हासी मजाकको विषय रहिरह्यो। मैले ठट्टाका साथ सोधेको थिए,‘तपाई त तीन महिनाका लागि रेलवे थुनामा पर्नुहुन्थ्यो। अनि के हुन्थ्यो नि ?’
तुरून्त भन्नुभयो–कठिन समयमा पार्टीको कोषमा तीन महिनाका लागि एक जना उपर हुने व्यय भार कम हुने थियो ।
त्यस बखत प्रवासमा रहेका एक जनालाई पार्टीले मासिक भारू २ सय ५० सहयोग जोहो गरेको थियो।
बगैंचा र बागवानीका बडो शौकिन हुनुहुन्थ्यो भीम बहादुर । साथै फलफूलका बडो जानकार । खासगरी गोदाबरी, गुलाफ र मखमली फूलको विशेषज्ञ नै हुनुहुन्थ्यो। बिपी कोइराला आफ्ना भाइ तारिणी प्रसाद कोइरालाको काठमाडौं जयबागेस्वरीस्थित निवासमा बस्नुहुन्थ्यो। त्यहाँको बगैंचा बडो आकर्षक थियो ।
यसको सम्पूर्ण हेरचारको काम उहाँ स्वयंले गर्नुहुन्थ्यो। बिपीका विचारहरू सुन्न हरेक बिहान त्यहाँ कार्यकर्ताहरू, पत्रकारहरूको ठूलो जमघट लाग्ने गथ्र्यो । सबैको ध्यान बिपी प्रति हुन्थ्यो, तर आफुले लगाएको फूलहरू कार्यकर्ताहरूले कुन्चि दिन्छन् कि भनेर भीम बहादुर बगैंचाको पालोपहरामै तैनाथ रहनुहुन्थ्यो। जीवनको अन्तिम समय तिर उहाँ बरिष्ठ अधिवक्ता तथा नेपाली कांग्रेसका नेता राधेश्याम अधिकारीको घरको एक भागमा बस्न थाल्नु भएको थियो ।
त्यहाँ जानेहरूले गोदावरीका दर्जनौं जातहरू हरेक फूल र बागवानीका बारेमा भीम बहादुरको लगाव तथा अनुराग थाहा पाउँथे ।
बाराणसीमा एक दिन बिपी कोइरालाले शैलजा आचार्यका स्वभावका बारेमा केही प्रतिक्रिया जनाउनु भएको थियो । यो सार्वजनिक प्रतिकृया थिएन, केही अन्तरङ्ग परिजनहरूकाबीच मात्र उहाँले भन्नुभएको थियो ।
त्यो कुरोपछि शैलजाले थाहा पाउनुभयो, जुन शैलजाको तत्काल दुःख र विक्षिप्ताको कारण हुन गयो । जीवनको पहिचानका बारेमा शैलजामा द्विविधा उत्पन्न भयो । यस कुरोले सुशीला कोइरालालाई बडो चिन्तित बनायो ।
सुशीला कोइरालालाई भीमबहादुरमा रहेको स्त्री स्वभावको मनोवैज्ञानिक विश्लेषण क्षमताको पुरा जानकारी थियो ।
यस निम्ति उहाँले भीमबहादुर जीलाई आग्रह गर्नुभयो र तत्पश्चात भीमबहादुरले थाहा नपाउँदो प्रकारबाट शैलजासँग हिमचिम बढाएर गम्भिर मनोवैज्ञानिक बहस तथा विश्लेषणको आधारमा शैलजालाई स्थिर गराउन सक्नुभयो ।
चक्र बास्तोला, जो शैलजाका बहिनी ज्वाइ हुनुहुन्थ्यो, मलाई भन्नुभयो‘यो शैलजाको लागि पुनर्जीवन थियो ।’
जन्मको आधारमा अर्थात् प्रकृति प्रदत्त लिंगको आधारमा महिलालाई बुझ्न सकिँदैन । महिलाको निर्माण त जन्मको धेरैपछि उसको चेतनाको विकास तथा समाजलाई बुझ्ने उसभित्रको आन्तरिक स्पन्दनबाट पो हुन्छ, यसो भन्नु हुन्थ्यो भीम बहादुर । सन् १९४५ मा फ्रान्सेली मनोवैज्ञानिक ‘सिमोन द बुआ’को पुस्तक ‘सेकेण्ड सेक्स’ प्रकाशित भएको थियो। उहाँ सन् ६० तिर यसको गहन अध्ययन गरिसक्नुभएको थियो ।
महिलालाई एकरूप वा सामान्यीकृत रूपमा नबुझ्ने, प्रत्येकको स्वतन्त्र पहिचान र अनुभवलाई महत्व दिने दृष्टिकोणबाट उनले समयभन्दा अगाडि, उन्नत, मनोवैज्ञानिक र फेमिनिस्ट सोच विकसित गरेका थिए।
चक्र बास्तोला बिपीपछि ती थोरै व्यक्तिमध्ये थिए जो भीमबहादुर जीलाई पुरूषको साधारण पहिरनमा सच्चा तथा वास्तविक फेमिनिष्ट ठान्दथे । म आज पनि सम्झिन्छु, भीम बहादुर जी भन्नु हुन्थ्यो, ‘महिलाहरु भन्नाले उसको लैंगिक प्रकृति बाहेक उसमा अन्य कुनै पनि त्यस्तो विषय हुन्न् जसले सबै महिलालाई समान जनाओस् । सबै महिला उस्तै हुँदैनन् । महिलाका बारेमा संसारमा कुनै तेस्तो पाठ छैन, जसको अध्ययन गरेर सबै महिलाहरूमा लागू हुने कुनै कुरा सिक्न सकियोस् । केही यस्ता अनुभवहरू पनि छन् जसले पुरूषको तुलनामा महिलाहरूको अधिक सम्भावनालाई उजागर गर्दछ ।’
यद्यपि यस्ता अनेकौं देशहरू छन्, जहाँ महिलाहरूका लागि समान साँस्कृतिक मापदण्ड अवलम्बन गरिएको भनिन्छ । तर, त्यहाँ पनि महिलाहरूको पहिचानका बारेमा गंभीर मतभेदहरू देखिन्छ ।
महिलाहरूका बारेका अनुभव स्थानीयताबाट बढी प्रभावित रहेको उहाँको राय हुन्थ्यो । शैलजाको अध्ययन गरेर मंगलादेवी सिंहको र सुशीला कोइरालाका बारेमा धारणा बनाउन नसकिने भन्नु हुन्थ्यो ।
भीम बहादुर जी अनेकन सुशिक्षित महिलाहरू–सुशीला कोइराला, मंगलादेवी सिंह, शैलजा आचार्य, भुवन ढुंगाना लगायत कयौंका प्रिय हुनुहुन्थ्यो । उहाँहरूसँग कुनै पोलिटिकल एजेण्डामा कुरा नगर्ने । महिला मनोविज्ञान, साहित्य, फुलबारी, लुगाफाटा, फेसन, बच्चाहरूको हेरचार, पढाइ र एडमिशन–यी विषयहरूमा भीम बहादुर जी नेता पत्नीहरू तथा कयौं महिला नेतृहरूको बडो पसन्दिता मानिस हुनुहुन्थ्यो। यसको एउटा दार्शनिक आधार थियो,‘सायद सबैभन्दा ठूलो गल्ती तपाइँ गर्न सक्नुहुन्छ कि महिलाहरु सबै उस्तै हुन् भन्ने विश्वास गर्नु ।’
यस मान्यताले उहाँलाई चर्चित र अचर्चित सबै महिलाहरूलाई पृथक पृथक पहिचानको रूपमा मान्न प्रेरित गथ्र्यो, न कि एकार्काको पूरकको रूपमा।
यसरी भीम बहादुरका लागि हरेक महिला आपस्तमा तुलना गर्न नसकिने, सबैको स्वतन्त्र पहिचानको व्यक्तित्व हो भने ठहरमा पुर्याएको थियो। यसरी उहाँ बडो प्रिय रहनुभयो, महिलाहरूमा। म भीम बहादुर जी सँगसँगै बस्थे । २०३८ पछि कयौं वर्षहरूसम्म ।
अनेकन बहसहरूमा सरिक रहन्थे। आज उहाँका बारेमा थोरै लेख्नुपर्दा ती कुराहरू सम्झिन बडो कठिन भएको छ।
तपाई कुनै दार्शनिक जस्तो मानिसको, जसको बिचारहरू प्रकाशनको रूपमा उपलब्ध छैन । जो तपाईको कुनै अध्यापक जस्तो पनि रहेन ।
जस्को मूल कार्यक्षेत्र राजनीति थियो, जहाँ असंख्य विषयहरूमा तपाईको असहमति पनि रहेको थियो–तेस्तो मानिसको दार्शनिक सोचहरूको उल्लेख गर्नसक्नु कठिन काम हुन्छ । अहिले भीमबहादुर जीको स्मृतिले मलाई सोही कठिन अवस्थामा पु¥याएको छ । तर म राजनीति बाहेक उहाँका कतिपय कुराहरूमा अभिभूत थिए।
शायद यसै कारणले केही स्मृतिहरू, यादहरू, कुराकानीका प्रसंगहरू मनमा जगाउँदै छु । थोरै राजनीतिका बारे
राजनीतिमा उहाँको प्रवेश ०१६ सालको संसदीय काल भन्दा पूर्व नै भएपनि यौटा सबल व्यक्तित्वको रूपमा उहाँको राजनीतिक परिचय प्रवासको राजनीतिबाट भएको हो। नेपाली कांग्रेसको प्रवासको राजनीति भनेकै शसस्त्र कारवाहीको राजनीति हो। कुनै शान्ति पूर्ण आन्दोलनको लागि नेका प्रवासमा बस्नु परेको होइन् ।
भीम बहादुर जी प्रवासको राजनीतिमा सदैब सशस्त्र कारवाहीको पक्षमा रहनुभयो । तर, कहिले पनि कुनै कारवाहीमा सशरीर सरिक हुनु भएन । सशस्त्र कारबाहीको वैचारिक पक्षलाई बलियो बनाउने काममा उहाँको महत्वपूर्ण योगदान रहेको छ । उहाँ निजी रूपमा चे गुवेरीयन हुनुहुन्थ्यो । चे बाट प्रभावित रहनुभयो ।
तर, चेको वैचारिक प्रभावलाई फैल्याउँदा कार्यकर्ताहरू पूर्ण रूपमा कम्यूनिष्ट हुन पुग्छन् भनि उहाँले चे गुवेराका क्रान्तिकारी शिल्पलाई नेपालको आवश्यकता भनी बीपीको सोचको रूपमा छलफलमा ल्याउनु हुन्थ्यो।
नेपाली कांग्रेसले वि.स २०१८ मा सुरू गरेको सशस्त्र कारबाही वा त्यसपछिका कारवाहीहरूलाई औपचारिक रूपमा के नामाकरण गर्ने यस्ता सामान्य जस्तो देखिने सवालमा उहाँ बडो गम्भिर र मिहीन छलफल गर्नुहुन्थ्यो ।
सशस्त्र कारबाहीलाई आन्दोलन भन्ने कि क्रान्ति भन्ने ? उहाँले नेपाली कांग्रेसको २०१८ साल पछिको सशस्त्र कारवाहीहरूलाई ‘प्रतिरोध’ रेसिसडेन्ट मुभमेन्ट भनी स्वीकार गराउन तथा औपचारिक लेखनमा प्रयोग गराउन बडो शालीन बहसलाई अगाडि बढाउनुभयो ।
कोइरालाहरूको पारिवारिक सन्दर्भमा बिहानको चियाको बडो महत्व रहेको छ । बिपी र पछि गिरिजा बाबुको समयमा एका बिहानै चियाका लागि सबै जम्मा हुन्थे र त्यहाँ बडो गम्भिर छलफल विचार विमर्श हुन्थ्यो । बडो जीवन्त खाले चर्चाहरू । यस अवसरहरूमा भीमबहादुर जीको उपस्थितिको आफ्नै रौनक रहन्थ्यो । उहाँका कुराहरूलाई बिपीले बडो महत्वका साथ सुन्नुहुन्थ्यो ।
त्यसमा सरिक हुनेहरूलाई यदाकदा लाग्दथ्यो कि बिपी पनि प्रभावित हुनुभयो । राम्रो तर्कशिलता देखिन्थ्यो भीम बहादुरमा। उहाँको यस तरिकाबारे ठट्टा गर्नुहुँदै चक्र बास्तोला बिहानको चिया खाने बेलामा बीपी समक्ष मजाकमा भन्नुहुन्थ्यो ।
भीमबहादुर जीले सान्दाजुलाई तान्दै हुनुहुन्छ । सान्दाजुले आफुलाई ठाउँमा रोक्नु पर्दछ । राजनीतिमा बीपीको सशस्त्र पक्षधरता र किसुन जीको अहिंसक विचार दुई धारको रूपमा लामो समयसम्म विद्यमान रहेको थियो ।
तर, भीमबहादुर जी दुवै नेताका उतिकै प्रिय थिए । किन यस्तो नि भनी मैले सोध्दा भीमबहादुर भन्नुहुन्थ्यो, ‘मेरो विचार क्रान्तिकारी, सशस्त्र पक्षधरताका लागि बिपीमा वैचारिक प्रवलता रहेको छ । तर्कपूर्ण औचित्यको आधारमा बिपीको दृष्टिकोणको निर्माण हुन्छ। म तेसमा सहमत रहन्छु । यस कारणले मलाई बीपी मन पर्छ । तर, म सशस्त्र कारबाहीमा सरिक हुन्न ।
‘वारियरनेश’ वा लडाकुपना यौटा नितान्त निजी गुण हुन, जुन आफुमा न रहेको भीमबहादुर जी स्वीकार गर्नुहुन्थ्यो। किसुन जीलाई उहाँले सदैब धरातलमा उभिएको देख्नुहुन्थ्यो। भीम जी भन्नु हुन्थ्यो–बिपीको जीवनमा निजी प्रयोजनका लागि अध्यात्मको स्थान छैन । राजनीतिका लागि बिपीले वैचारिक दर्शनहरू बुझ्नु हुन्छ । जबकि, किसुन जी राजनीतिका लागि बैचारिक दर्शनको उपयोग भन्दा निजी जीवनमा अध्यात्मको स्थानलाई महत्वपूर्ण ठान्नु हुन्छ । यसरी एउटै उद्देश्यका लागि दुई धार रहेको उहाँ सोच्नु हुन्थ्यो ।
भीमबहादुर जीको नजरमा गणेशमान जी बिपीको पूरक बढी रहनु भयो । गजब थियो भीमबहादुर जीको समझ । नेताहरूलाई बुझेर, जानेर उहाँ मौलिक गुणहरूका आधारमा लगावहरूको निर्धारण गर्नु हुन्थ्यो। यो थियो उहाँको शैली ।डिसेम्बर १ कै दिन उहाँको निधनको समाचार आएको थियो ।
(हामीले यो लेख जयप्रकाश आनन्दको फेसबुकबाट साभार गरेका हौं ।)












