काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू राष्ट्रपतिका रूपमा रहेकै समयमा भएका संसद विघटनका निर्णयहरू कुनै दबाबमा नभई संविधान र कानूनी प्रक्रिया अनुसार भएको स्पष्ट पारेकी छन्।
मंगलबार काठमाडौंमा मदन भण्डारी फाउन्डेशनले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै भण्डारीले संसद विघटनको विषयमा पुनः मुख खोलेकी हुन्। उनले भनिन्, ‘संसद विघटनको इतिहास नेपालमा नयाँ होइन, २०१७ सालदेखि नै पटक–पटक संसद विघटन हुँदै आएको छ। मेरो कार्यकालमा भएका निर्णय पनि संविधानअनुसार मन्त्रिपरिषद्को सिफारिसमा भएका हुन्। त्यसमा कुनै व्यक्तिगत दबाब वा प्रभाव थिएन।’
पूर्वराष्ट्रपति भण्डारीले संविधानले राष्ट्रपतिलाई मन्त्रिपरिषद्को सिफारिस कार्यान्वयन गर्ने जिम्मेवारी मात्रै दिएको उल्लेख गर्दै आफूले आफ्नो भूमिकाभित्र रहेर काम गरेको दाबी गरिन्। उनले थप भनिन्,’संसद विघटनको राजनीतिक पाटोबारे छलफल गर्न म सधैं तयार छु।’












