काठमाडौं । निजामती कर्मचारीहरूको सरुवा, पदस्थापन तथा काज सरुवासम्बन्धी मापदण्ड अब समयानुकल रूपमा परिमार्जन गरिने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले सरुवासम्बन्धी कामलाई निष्पक्ष, पारदर्शी र बस्तुगत बनाउने उद्देश्यले मापदण्ड परिमार्जनको प्रक्रिया अघि बढाइएको जानकारी दिएकी छन्।
मन्त्री न्यौपानेले मन्त्रालयका सचिव, सहसचिवलगायतका अधिकारीहरूलाई मापदण्ड परिमार्जनको तयारी गरी राय र सुझाव पेश गर्न निर्देशन दिएकी हुन्। उनका अनुसार, मापदण्ड संशोधन भएपछि मात्र सरुवासम्बन्धी काम अघि बढाइने छ। त्यसैले सुझाव तयारी जतिसक्दो चाँडो गर्न उनले निर्देशन दिएकी छन्।
मन्त्री न्यौपानेले विगतमा बनेका मापदण्ड प्रभावकारी रूपमा कार्यान्वयनमा नआएको उल्लेख गर्दै अबदेखि ती मापदण्ड कडाइका साथ अनिवार्य रूपमा लागू गरिने स्पष्ट गरेकी छन्। सरुवाको प्रक्रिया पूर्वानुमानयोग्य होस् भन्ने सोचका साथ नीति निर्माण गर्नुपर्ने उनको भनाइ छ।
सरुवा र प्रशासनिक प्रक्रियाबारे देखिने गुनासोलाई सम्बोधन गर्न मन्त्री न्यौपानेले मन्त्रालयमै छुट्टै गुनासो सुनुवाइ संयन्त्र बनाउने घोषणा पनि गरेकी छन्। यसले कर्मचारीबीचको भरोसा र पारदर्शिता बढाउने विश्वास लिइएको छ।












