काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ ले सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेले प्रतिपक्षमा रहेका साना दलहरूमाथि प्रतिशोध साध्न खोजेको आरोप लगाएका छन्।
स्व. प्रदीप गिरीको तेस्रो स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पुनले राज्य शक्तिको दुरुपयोग नगर्न आग्रह गरे। उनले भने, “दुई ठूला पार्टी मिलेर साना दललाई पेल्ने काम भइरहेको देखिन्छ। गल्ती गर्ने कानुनभन्दा माथि हुँदैन तर प्रतिशोध अस्वीकार्य छ।”
पूर्वअर्थमन्त्री पुनले न्यायालय र अख्तियारलाई प्रतिपक्षविरुद्ध प्रयोग गर्ने प्रयास अस्वीकार्य भएको भन्दै सरकारलाई सुधार गर्न आग्रह गरे। उनले माओवादी केन्द्र जनतासँग गल्ती स्वीकार गर्न र सच्याउन तयार रहेको स्पष्ट पारे।
उनले लोकतन्त्रको विकल्प झन् राम्रो लोकतन्त्र मात्र हुने बताउँदै सस्तो लोकप्रियतावादबाट मुलुकको समस्या समाधान नहुने टिप्पणी गरे।












