काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको नेतामा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) चयन भएका छन्।
बिहीबार रास्वपा केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकले शाहलाई संसदीय दलको नेता चयन गर्ने निर्णय गरेको हो। रास्वपा सभापति रवि लामिछानेले संसदीय दलको नेता चयनका लागि प्रस्ताव गरेका थिए।
संसदीय दलको बैठकले सर्वसम्मत रुपमा शाहलाई संसदीय दलको नेता चयन गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले बताए।
बालेन रास्वपा संसदीय दलको नेता चयन भएसँगै प्रधानमन्त्री बन्ने बाटो खुलेको छ।
गत २१ फागुनमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनबाट रास्वपाले १८२ सिटसहित एकल बहुमत ल्याएको थियो। उनी संविधानको धारा, ७६ को उपधारा (१) अनुसार प्रधानमन्त्री बन्न लागेका हुन्। यो धारा अनुसार ‘राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ।
बालेनले प्रधानमन्त्रीको शपथ शुक्रबार १२ बजेर ३४ मिनेटमा लिने तयारी छ। रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार १३ चैत दिउँसो १२ बजेर ३४ बजे राष्ट्रपति रामचन्द्र पौडेलले रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहलाई शपथग्रहण गराउनेछन् ।
शपथग्रहण समारोहमा सातवटा शंखबाट शंखनाद गरिनेछ । १०८ जना वटुकबाट स्वस्तिशान्ति वाचन गरिनेछ । १६ जना बौद्ध भिक्षुबाट अष्टमंगल पाठ गरिने छ।












