काठमाडौं। काठमाडौंमा सोमबार आयोजित एक संवाद कार्यक्रममा नेपालमा बढ्दो वायु प्रदूषणले अब वातावरण मात्र होइन, जनस्वास्थ्यमा गम्भीर असर पारिरहेको चेतावनी दिइएको छ। विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक र दीर्घरोगीहरू सबैभन्दा बढी जोखिममा परेको निष्कर्ष कार्यक्रममा प्रस्तुत गरिएको हो।
वातावरण विभाग, युथ अलायन्स फर इन्भाइरोन्मेन्ट र क्लिन एयर अलाइन्सको सहकार्यमा आयोजित कार्यक्रममा विज्ञहरूले प्रदूषण नियन्त्रणमा ढिलाइ हुँदा दीर्घकालीन स्वास्थ्य संकट झन् गहिरिने बताएका छन्।
विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार नेपालको हावाको गुणस्तर असुरक्षित अवस्थामा रहेको र पिएम २.५ को स्तर दक्षिण एसियामै उच्चमध्ये रहेको जानकारी कार्यक्रममा दिइयो। नेपालमा कुल मृत्युमध्ये करिब १९ प्रतिशत मृत्यु वायु प्रदूषणसँग सम्बन्धित रहेको तथ्यले समस्या गम्भीर बनेको संकेत गरेको छ।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)का वायु प्रदूषण विश्लेषक सागर अधिकारीका अनुसार मनसुनबाहेक वर्षको अधिकांश समय नेपालमा वायु प्रदूषण मापदण्डभन्दा माथि रहन्छ। उनले काठमाडौं उपत्यका र तराई क्षेत्रलाई वायु प्रदूषणका प्रमुख हटस्पट बताए।
कार्यक्रममा प्रस्तुत तथ्यअनुसार पछिल्ला दिनमा काठमाडौं उपत्यकामा हिउँद र सुक्खायाममा एक्युआई २०० भन्दा माथि पुगेको छ। सवारीसाधनको धुवाँ, निर्माणजन्य धुलो, फोहोर जलाउने प्रवृत्ति र वन डढेलो प्रदूषणका मुख्य स्रोतका रूपमा चिनिएका छन्।
डा. अनुप सुवेदीले पिएम २.५ जस्ता सूक्ष्म कणहरू श्वासप्रश्वास नली हुँदै रगतमा मिसिएर मुटु, फोक्सो र अन्य अंगसम्म पुग्ने भएकाले यसले श्वासप्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात र आयु घटाउने जोखिम बढाइरहेको बताए।
उनका अनुसार बालबालिकामा फोक्सोको विकासमा असर, दम र दीर्घकालीन श्वासप्रश्वास समस्या तीव्र रूपमा देखिन थालेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा समीर अधिकारीले वायु प्रदूषण नियन्त्रणका लागि केवल सरकारी नीति पर्याप्त नहुने भन्दै प्रदूषणका स्रोत पहिचान गरेर स्रोतमै नियन्त्रण गर्नुपर्ने बताए।
वातावरण विभागका वातावरण निरीक्षक प्रकाश केसीले काठमाडौं उपत्यकाको वायु प्रदूषण कार्ययोजना संशोधन तथा राष्ट्रिय मापदण्ड परिमार्जनको प्रक्रिया अघि बढिरहेको जानकारी दिए।
युथ अलायन्स फर इन्भाइरोन्मेन्टका अध्यक्ष सनोत अधिकारीले वातावरणीय स्वास्थ्यका लागि कुनै ‘खोप’ नभएको भन्दै स्वच्छ हावा सुनिश्चित गर्न सामूहिक पहल अपरिहार्य रहेको बताए।












