काठमाडौं। चिनजान बढाउने, घरमै पुगेर खानेकुरा दिने र त्यसमा नशालु पदार्थ मिसाएर बेहोस बनाउने। त्यसपछि नगद, सुनका गहना र मोबाइल लिएर फरार हुने। काभ्रेपलाञ्चोकमा यसरी श्रृंखलाबद्ध लुटपाट गर्दै आएको समूह प्रहरीको फन्दामा परेको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले नशालु पदार्थ खुवाएर मानिसलाई बेहोस बनाई लुटपाट गर्ने घटनामा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा लुटपाटमा संलग्न दुई जना र चोरीको सुन किन्ने दुई जना रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा ओखलढुंगाको चम्पादेवी गाउँपालिका–९ की ५० वर्षीया संगीता तामाङ (कार्की) र काभ्रेको धुलिखेल नगरपालिका–२ का ३८ वर्षीय बिर्खबहादुर तामाङ छन्। उनीहरू हाल बनेपामा बस्दै आएका थिए।
त्यस्तै, चोरीको सुन किन्ने आरोपमा दोलखाको बिगु गाउँपालिका–४ घर भई भक्तपुरको मध्यपुर थिमि बस्ने ४६ वर्षीय नवराज घिमिरे र नमोबुद्ध–२ घर भई बनेपा–७ बस्ने ३२ वर्षीय प्रवीण सुनुवार पक्राउ परेका छन्।
दूधदेखि लेमन जुससम्ममा नशालु पदार्थ
प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार समूहले विभिन्न समयमा कम्तीमा चारवटा लुटपाटका घटना गराएको खुलेको छ। उनीहरूले पीडितलाई झुक्याएर दूध, लेमन जुस र खानामा नशालु पदार्थ मिसाई खुवाउने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
गत असार २४ गते सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–४ का ५४ वर्षीय गंगा बहादुर गुरुङलाई बनेपा नगरपालिका–६ मा नशालु पदार्थ मिसाइएको खानेकुरा खुवाएर बेहोस बनाइएको थियो। त्यसपछि उनको साथबाट ८ हजार रुपैयाँ नगद र चारवटा राडी (कपडा) लुटिएको थियो।
बेहोस भएका गुरुङलाई उपचारका लागि बनेपास्थित शिर मेमोरियल अस्पतालको आईसीयूमा चार दिन राखिएको थियो।
त्यस्तै, साउन १९ गते काभ्रेको खानिखोला गाउँपालिका–४ घर भई बनेपा नगरपालिका–४ बस्ने ७० वर्षीया हिरामाया जिम्बालाई दूधमा नशालु पदार्थ मिसाएर खुवाइएको थियो। बेहोस भएपछि उनको साथबाट दुईवटा सुनको रिङ र एउटा सुनको तिलहरी लुटिएको प्रहरीले जनाएको छ। घटनापछि उनी र उनका श्रीमान् दुवै अस्पताल भर्ना भएका थिए।
असार २८ गते पनौती नगरपालिका–८ का ५१ वर्षीय हेमबहादुर बस्नेतलाई बनेपा नगरपालिका–३ मा लेमन जुसमा नशालु पदार्थ मिसाएर खुवाइएको थियो। बेहोस भएका बस्नेतको साथबाट सुनको सिक्री, मोबाइल र सुनको औँठी लुटिएको थियो।
यस्तै, जेठ २३ गते दिउँसो करिब १ बजे नमोबुद्ध नगरपालिका–११ की ६७ वर्षीया पञ्चमाया तामाङ घरमै बसिरहेका बेला दुई महिला पुगेका थिए। उनीहरूले खानामा नशालु पदार्थ मिसाएर खुवाई बेहोस बनाएपछि करिब एक तोलाको सुनको रिङ लुटेर लगेको प्रहरीले जनाएको छ।
लुटेको सुन बेच्ने छुट्टै सञ्जाल
प्रहरी अनुसन्धानमा लुटपाट गर्ने र चोरीको सुन किन्ने व्यक्तिहरूबीच सम्पर्क रहेको खुलेको छ। पीडितहरूबाट लुटिएका गरगहना भक्तपुरको मध्यपुर थिमिस्थित जय शिवशक्ति सुनचाँदी ज्वेलर्सका सञ्चालक नवराज घिमिरे र नमोबुद्धस्थित गणेश सुनचाँदी पसलका सञ्चालक प्रवीण सुनुवारले बिना रसिद खरिद गरेको खुलेको प्रहरीले जनाएको छ।
चोरीको सुन खरिद गर्ने क्रममा बिलबिजक नबनाउने र स्वरूप परिवर्तन गरेर राख्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।
पक्राउ परेका व्यक्तिहरूको विगत पनि विवादरहित देखिँदैन। प्रहरीका अनुसार संगीता तामाङ र बिर्खबहादुर तामाङ यसअघि काठमाडौंमा पनि नशालु पदार्थ खुवाएर चोरी गरेको घटनामा संलग्न रहेको खुलेको छ। उनीहरूविरुद्ध चोरी तथा डाँकासम्बन्धी मुद्दा चलेको र अदालतबाट कैद तथा जरिवानाको फैसला भएको विवरणसमेत प्रहरीले सार्वजनिक गरेको छ।
प्रहरीले पक्राउ परेका चारै जनालाई अनुसन्धान पूरा गरी अभियोजनका लागि जिल्ला सरकारी वकिल कार्यालय काभ्रेपलाञ्चोकमा पेस गरेको जनाएको छ।












