काठमाडौं। निर्वाचन आयोगले नेपाली कांग्रेसका सभापति गगनकुमार थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिक मान्यता दिँदै पार्टीको नयाँ विवरण अभिलेखमा अद्यावधिक गरेको छ। आयोगले १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति, संशोधित विधान र महाधिवेशनबाट पारित राजनीतिक दस्तावेजलाई समेत औपचारिक रूपमा स्वीकृत गरेको हो।
गत असोज १८ देखि २३ गतेसम्म काठमाडौंमा सम्पन्न कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको विवरण अद्यावधिक गर्न आयोगले सहमति दिएको हो।z
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार कांग्रेसले पेस गरेका कागजात, महाधिवेशनका निर्णय र विधान संशोधनसम्बन्धी विवरणको कानुनी अध्ययनपछि आयोगले मंगलबार अद्यावधिक गर्ने निर्णय गरेको थियो। उक्त निर्णयअनुसार बुधबार आयोगले पार्टीलाई आधिकारिक पत्र उपलब्ध गराएको उनले बताए।
उनका अनुसार महाधिवेशनबाट निर्वाचित पदाधिकारी, केन्द्रीय सदस्य तथा संशोधित विधानलगायतका सबै विवरण आयोगको अभिलेखमा समावेश भइसकेका छन्।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव अधिवक्ता राजु कटुवालले पनि आयोगबाट कार्यसमिति र विधान अद्यावधिक भएको आधिकारिक पत्र प्राप्त भएको पुष्टि गरेका छन्।
सभापति थापाले बुधबार जारी केन्द्रीय समिति बैठकमा पनि १५औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई आयोगले अद्यावधिक गर्ने निर्णय गरेको जानकारीसहितको पत्र प्राप्त भएको बताएका थिए।
यसअघि विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगले आधिकारिकता प्रदान गरेको थियो। त्यही कार्यसमितिको नेतृत्वमा सम्पन्न नियमित १५औँ महाधिवेशनबाट थापाको सभापतित्वमा २३१ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित भएको थियो।
महाधिवेशनपछि महामन्त्री प्रदीप पौडेल नेतृत्वको टोलीले कात्तिक १६ गते आयोगमा विवरण अद्यावधिकका लागि निवेदन दिएको थियो। टोलीले संशोधित विधान, राजनीतिक दस्तावेज र महाधिवेशनका निर्णयसहित आवश्यक कागजात आयोगमा बुझाएको थियो।
आयोगको पछिल्लो निर्णयसँगै १५औँ महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको केन्द्रीय कार्यसमितिको विवरणले पनि निर्वाचन आयोगको अभिलेखमा औपचारिक स्थान पाएको छ। यससँगै कांग्रेसको नयाँ नेतृत्व र महाधिवेशनबाट पारित विधान तथा दस्तावेजसम्बन्धी अद्यावधिक प्रक्रिया पूरा भएको छ।












