काठमाडौं। नेपाली कांग्रेसको नेतृत्व र आधिकारिकताको विवाद अब आरोपप्रत्यारोपको नयाँ चरणमा पुगेको छ।
पूर्वसभापति शेरबहादुर देउवाले गगन थापा नेतृत्वको पक्षले आर्थिक चलखेलबाट पार्टीको आधिकारिकता लिएको आरोप लगाइरहेका बेला सभापति थापाले देउवाकै राजनीतिक मर्यादा र अभिव्यक्तिको स्तरमाथि प्रश्न उठाएका छन्।
देउवाले १८ करोड रुपैयाँको प्रसंग उठाउँदै पैसाको बलमा पार्टीको आधिकारिकता लिएको आरोप लगाएपछि थापाले त्यसको प्रतिवाद गरेका हुन्। थापाले देउवालाई पाँच पटक प्रधानमन्त्री र दुई पटक पार्टी सभापति भइसकेको नेताको हैसियतअनुसार बोल्न आग्रह गरेका छन्। अदालतमा चलिरहेको विवाद र देउवाको पक्षबाट भएको कानुनी प्रक्रियामाथि समेत उनले प्रश्न उठाएका छन्।
दुवै नेताका पछिल्ला अभिव्यक्तिले कांग्रेसभित्रको विवाद अब नेतृत्वको प्रतिस्पर्धामा मात्रै सीमित नरहेको देखाएको छ।
देउवाको आरोप : १८ करोडमा पार्टी किनियो
पूर्वसभापति देउवाले कात्तिक २१ गते शनिबार काठमाडौंमा आयोजित आफ्नो पक्षको काठमाडौं जिल्ला कार्यसमितिको १५औँ अधिवेशन उद्घाटन समारोहमा गगन थापा नेतृत्वको पक्षमाथि आर्थिक चलखेलको आरोप लगाएका थिए।
कांग्रेसको आधिकारिकता विवादमा १८ करोड रुपैयाँ लेनदेन भएको भन्ने विषय सार्वजनिक भएपछि देउवाले निर्वाचन आयोगको निर्णय प्रक्रियामाथि प्रश्न उठाएका थिए।
उनले प्रहरी हिरासतमा रहेका इनम सापकोटाको नाम जोडिएको सार्वजनिक अडियोमा आएको दाबीलाई आधार बनाउँदै पार्टीको आधिकारिकता पैसाको बलमा प्रभावित पारिएको आशय व्यक्त गरेका थिए।
देउवाले भनेका थिए, ‘इनाम सापकोटाले १८ करोड भनेको छ । बा, सानो पैसा हो त्यो ? त्यो पैसा दिएर पार्टी किनिदियो । अब पैसामा पार्टी बेच्ने हामीले ?’
उनले निर्वाचन आयोगका तत्कालीन पदाधिकारीलाई ज्यानको धम्की आएको भन्ने समाचारसमेत उल्लेख गरेका थिए। त्यसबारे निष्पक्ष छानबिन हुनुपर्ने उनको माग थियो।
देउवाले पार्टीको राजनीतिक मूल्य, सिद्धान्त र पहिचानलाई पैसासँग साट्न नसकिने भन्दै पार्टी पैसाको प्रभावमा नभई विधि, विधान र कार्यकर्ताको विश्वासमा चल्नुपर्ने बताएका थिए।
उनको अर्को भनाइ थियो, ‘पार्टी पैसाको प्रभावमा होइन, विधि, विधान र कार्यकर्ताको विश्वासमा चल्नुपर्छ।’
देउवाको यो अभिव्यक्ति गगन थापा नेतृत्वको विशेष महाधिवेशनबाट आएको कार्यसमितिको वैधानिकतामाथि प्रश्न उठाउने उद्देश्यसँग जोडिएको थियो। निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई मान्यता दिएपछि देउवा पक्षले त्यसविरुद्ध कानुनी तथा राजनीतिक लडाइँ जारी राखेको छ।
तर १८ करोड रुपैयाँ लेनदेन भएको भन्ने अडियोको सत्यता र त्यसमा गरिएको दाबी स्वतन्त्र रूपमा पुष्टि भइसकेको छैन।
गगनको जवाफ : देउवाले राजनीतिक कद कायम राख्नुपर्छ
देउवाको अभिव्यक्तिपछि सभापति थापाले मंसिर ८ गते मंगलबार ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकमा प्रतिवाद गरेका थिए।
उनले देउवाको राजनीतिक योगदान र विगतको जिम्मेवारी स्मरण गराउँदै सार्वजनिक अभिव्यक्ति दिँदा मर्यादा कायम राख्न आग्रह गरे।
थापाले भनेका थिए, ‘पाँच पटक प्रधानमन्त्री भएको, दुई पटक सभापति भएको नेताले स्तर कायम राख्नुपर्छ भन्ने मेरो कुरा हो।’
देउवाले आफूविरुद्ध सार्वजनिक मञ्चबाट व्यक्त गरिरहेका अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै थापाले उनको राजनीतिक उचाइअनुसार बोली र व्यवहार हुनुपर्ने बताएका थिए।
उनले भनेका थिए, ‘त्यो उमेर र कदको नेताको बोली राजनीतिक हुनुपर्छ। असहमति पनि राजनीतिक हुनुपर्छ। सीमा र मर्यादाभित्र हुनुपर्छ।’
देउवालाई व्यक्तिगत रूपमा कुनै गुनासो नभएको उल्लेख गर्दै थापाले आफूले स्नेह र चिन्ताका कारण यस्तो आग्रह गरेको बताएका थिए।
उनको अर्को अभिव्यक्ति थियो, ‘उहाँ अग्लो हुनुहुन्छ, अग्लाइमै बस्नुस्। तपाईंले आफ्नो लेभल मेन्टेन गर्नुस्।’
थापाले देउवाको निवासमा जेनजी आन्दोलनका क्रममा भएको आगजनीबारे सार्वजनिक भएको एउटा भिडियोको प्रसंगसमेत बैठकमा उठाएका थिए। तीन–चार वर्षको बच्चालाई गगन थापाले नै घर जलाएको हो भनेर सोध्दा देउवाले टाउको हल्लाएर सहमति जनाएको दृश्य आफूले देखेको उनको भनाइ थियो।
थापाले उक्त घटनाले आफ्ना परिवारका सदस्यसमेत प्रभावित भएको स्मरण गराउँदै यस्तो विषयमा नेताहरूको अभिव्यक्ति राजनीतिक हुनुपर्ने बताएका थिए।
अदालतको मुद्दामा पनि गगनको प्रश्न
थापाले पार्टीको आधिकारिकतासम्बन्धी विवाद अदालतमा विचाराधीन रहेको विषयमा देउवाले सार्वजनिक रूपमा दिएको अभिव्यक्तिमाथि पनि प्रश्न उठाएका थिए।
अदालतमा कसले वारेस राखेको छ भन्ने विषय खोज्न आग्रह गर्दै उनले भनेका थिए, ‘अदालतमा वारेस कसले हालेको हो, खोज्नुहोस्, त्यसपछि देउवा बोल्न छाड्नुहुन्छ।’
थापाले विशेष महाधिवेशनको प्रक्रियामा देउवा आफैं भ्रममा परेको हुन सक्ने आशयसमेत व्यक्त गरेका थिए।
‘शेरबहादुर दाइलाई कसैले झुक्याएको हो भन्ने लागेको थियो। तर अहिलेको कुरा हेर्दा उहाँ आफैं झुक्किनुभएको रहेछ जस्तो लाग्छ,’ भन्ने आशय उनले बैठकमा व्यक्त गरेका थिए।
अडियोबारे गगनको दाबी
मंगलबारको बैठकमा थापाले एक व्यक्तिको अडियो आफूले सुनेको दाबी पनि गरेका थिए।
उनका अनुसार सार्वजनिक भएको १८ करोड रुपैयाँसम्बन्धी अडियो बाहिरिनुभन्दा तीन दिनअघि नै ती व्यक्तिको अडियो आफूलाई सुनाइएको थियो। तर अडियो बाहिर लैजान नपाउने सर्त राखिएकाले आफूले त्यसमा चासो नदेखाएको उनको भनाइ थियो।
थापाले उक्त अडियोमा कांग्रेसभित्र शेरबहादुर देउवालाई नै कायम राख्ने र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि आफ्नै पार्टीमा राख्ने विषयमा कुराकानी भएको आशय व्यक्त गरेका थिए।
यसले कांग्रेसको आन्तरिक विवादमा प्रधानमन्त्री कार्यालयका व्यक्तिहरूको भूमिकाबारे पनि प्रश्न उठाएको छ।
समानान्तर महाधिवेशनसम्म
देउवा र थापाबीचको विवाद केवल १८ करोड रुपैयाँको आरोप र त्यसको प्रतिवादमा सीमित छैन। दुवै पक्षले आ–आफ्नो नेतृत्वलाई आधिकारिक कांग्रेसका रूपमा प्रस्तुत गर्दै समानान्तर संगठनात्मक गतिविधि अघि बढाइरहेका छन्।
देउवा पक्षले जिल्ला तथा तल्ला तहमा अधिवेशन गर्दै आफ्नो संगठन विस्तार गरिरहेको छ। अर्कोतर्फ थापा नेतृत्वको संस्थापन पक्षले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमिति नै आधिकारिक भएको दाबी गर्दै आएको छ।
मंसिर ८ गतेको केन्द्रीय कार्यसमिति बैठकमा थापाले देउवा पक्षको अधिवेशनमा सहभागी हुने जनप्रतिनिधिलाई विधानअनुसार कारबाही गर्ने चेतावनीसमेत दिएका थिए।
उनले कांग्रेसको चुनाव चिह्नबाट निर्वाचित भएर अर्को पार्टीको गतिविधिमा सहभागी हुने हो भने सम्बन्धित जनप्रतिनिधिले पदबाट राजीनामा दिनुपर्ने बताएका थिए।
थापाको भनाइ थियो, ‘तपाईंले कांग्रेस छाडेर अर्को नयाँ पार्टीमा जानुभयो भने तपाईं जुन सभामा हुनुहुन्छ, राजीनामा गर्नुहोला। गर्नुभएन भने विधानअनुसार हुन्छ। विधान कार्यान्वयन गर्नु मेरो जिम्मेवारी हो।’
यसको जवाफमा देउवा पक्षका नेताहरूले आफूहरू नै आधिकारिक कांग्रेस भएको दाबी गर्दै आएका छन्। अदालतमा आधिकारिकतासम्बन्धी विवाद विचाराधीन रहेको अवस्थामा दुवै पक्षले राजनीतिक तथा संगठनात्मक गतिविधि तीव्र बनाएका छन्।












