काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनलाई नेपालको लोकतान्त्रिक यात्राको ऐतिहासिक उपलब्धि भएको बताएकी छन्।
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन ०८२ सम्पन्न भएको अवसरमा बुधबार काठमाडौंमा आयोजना गरेको जलपान कार्यक्रममा उनले असामान्य राजनीतिक र सुरक्षा चुनौतीबीच तोकिएकै समयमा स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण निर्वाचन सम्पन्न हुनु संविधान र लोकतान्त्रिक प्रणालीको सुदृढीकरणतर्फ महत्वपूर्ण कदम भएको उल्लेख गरिन्।
प्रधानमन्त्री कार्कीले गत भदौ २३-२४ को ‘जेनजी विद्रोह’ पछिको जटिल अवस्थालाई स्मरण गर्दै देशमा सुरक्षा संवेदनशीलता, राजनीतिक संवादहीनता र कानुनी शून्यता रहेकाबीच सरकारले ६ महिनाभित्र निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता पूरा गरेको बताइन्। उनले सरकार गठन हुँदाको मुख्य जिम्मेवारी निर्वाचन सम्पन्न गराउनु रहेको उल्लेख गर्दै त्यसका लागि सम्पूर्ण राज्य संयन्त्र परिचालन गरिएको बताइन्।
उनले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको नेतृत्वमा निर्वाचन आयोगले स्पष्ट कार्ययोजना, व्यावसायिक दक्षता र दृढ इच्छाशक्तिका साथ चुनौतीपूर्ण कार्य सफलतापूर्वक सम्पन्न गरेको भन्दै आयोग र सुरक्षानिकायको प्रशंसा गरिन्। प्रधानमन्त्रीले निर्वाचन प्रक्रियामा अवरोध, आलोचना र चुनौती सामना गरेर पनि देशको भविष्य सुरक्षित गर्ने राष्ट्रिय जिम्मेवारी पूरा गरिएको बताइन्।
यस निर्वाचनमा मतदाता नामावली अद्यावधिकका लागि निर्वाचन घोषणापछि पनि नाम दर्ता खुला गरिएको, राष्ट्रिय परिचयपत्र प्रणालीसँग मतदाता विवरण जोडिएको, मौज्दात सामग्री पुनः प्रयोग गरिएको तथा स्वदेशी सामग्रीलाई प्राथमिकता दिइएको उल्लेख गर्दै उनले मितव्ययिता र व्यवस्थापनमा नयाँ मानक स्थापित भएको दाबी गरिन्।
प्रधानमन्त्री कार्कीका अनुसार निर्वाचन खर्च पारदर्शी बनाउन अलग बैंक खाता सञ्चालन, सामाजिक सञ्जाल निगरानी, आचारसंहिता उल्लंघनमा कडा अनुगमन तथा सुदृढ सुरक्षा व्यवस्थाका कारण कुनै पनि मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने अवस्था नआएको बताइन्।
उनले नवनिर्वाचित जनप्रतिनिधिहरूलाई बधाई दिँदै आगामी दिनमा लोकतन्त्र सुदृढीकरण, सुशासन प्रवर्द्धन र समृद्ध नेपाल निर्माणमा सबै पक्षको सहकार्य आवश्यक रहेको बताइन्। साथै निर्वाचनमा सहयोग पुर्याउने सुरक्षाकर्मी, कर्मचारी, राजनीतिक दल, सञ्चारमाध्यम, नागरिक समाज र विकास साझेदारप्रति आभार व्यक्त गरिन्।












