काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका, इजरायल र इरानबीचको युद्धबारे फेरि एकपटक ठूलो दाबी गरेका छन्। उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै इरानविरुद्धको युद्ध छिट्टै अन्त्य गर्ने विषयमा विचार भइरहेको बताएका हुन्।
तर अर्कोतर्फ, अमेरिकी पक्षले स्थलसेना परिचालन गर्ने सम्भावनाबारे पनि विचार गरिरहेको भन्ने रिपोर्टहरू सार्वजनिक भइरहेका छन्।
युद्ध अन्त्यबारे ट्रम्पले आफ्नो पोस्टमा लेखेका छन्, ‘इरानको आतंकवादी शासनको सन्दर्भमा हामी मध्यपूर्वमा चलिरहेका आफ्ना ठूला सैन्य अभियानहरू क्रमशः अन्त्य गर्ने विषयमा विचार गरिरहेका छौं, किनकि हामी आफ्ना लक्ष्यहरू हासिल गर्ने निकै नजिक पुगेका छौं।’
यद्यपि युद्ध अन्त्यसँगै उनले सुरुदेखि नै चर्चामा रहेको होर्मुज स्ट्रेटबारे पनि टिप्पणी गरेका छन्। ट्रम्पले भनेका छन्, ‘यस (होर्मुज)को निगरानी र सुरक्षाको जिम्मा त्यसको प्रयोग गर्ने देशहरूले लिनुपर्छ।’
एक अनुमानअनुसार, विश्वको करिब २० प्रतिशत तेल सामान्यतः होर्मुज जलडमरूमध्यमार्फत ओसारपसार हुन्छ।
ट्रम्पले थप भनेका छन्, ‘यदि हामीलाई आग्रह गरियो भने, हामी ती देशहरूलाई होर्मुज जलडमरूमध्यको सुरक्षासम्बन्धी प्रयासमा सहयोग गर्न सक्छौं। तर इरानबाट आउने खतरा समाप्त भएपछि यसको आवश्यकता नहुनुपर्छ। महत्त्वपूर्ण कुरा के हो भने, ती देशहरूका लागि यो सजिलो सैन्य अभियान हुनेछ।’
उनले इरानविरुद्धको युद्धमा अहिलेसम्म हासिल उपलब्धिहरूको पनि उल्लेख गरेका छन्।
ट्रम्पका अनुसार इरानको क्षेप्यास्त्र क्षमता पूर्ण रूपमा नष्ट गरिएको छ, इरानको सैन्य औद्योगिक संरचना ध्वस्त पारिएको छ, र इरानले कहिल्यै परमाणु हतियार निर्माण नजिक पुग्न नसक्ने अवस्था सुनिश्चित गरिएको छ।












