काठमाडौं । उपसभापति विश्वप्रकाश शर्माले कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सभापति गगन थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेश गर्ने बताएका छन्। शुक्रबार बस्ने बैठकमा शर्मा स्वयं अध्यक्षता गर्दै उक्त प्रस्ताव औपचारिक रूपमा अघि बढाउने तयारीमा छन्।
गत फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले अपेक्षाभन्दा कमजोर नतिजा बेहोरेपछि थापाले त्यसको नैतिक जिम्मेवारी लिँदै बुधबार शर्मालाई राजीनामा बुझाएका थिए। कांग्रेसले कुल ३८ सिटमा सीमित हुँदा रास्वपा १८२ सिटसहित पहिलो शक्ति बनेको छ। थापा स्वयं पनि सर्लाही–४ बाट पराजित भएका थिए।
पार्टी विधानअनुसार सभापतिको राजीनामा उपसभापतिमार्फत केन्द्रीय कार्यसमितिमा पेश गर्नुपर्ने व्यवस्था छ। यही प्रक्रियाअनुसार शर्मा राजीनामा अस्वीकृत गर्ने प्रस्ताव लिएर बैठकमा जान लागेका हुन्। संस्थापन पक्षका नेताहरूले अहिले राजीनामा स्वीकृत गर्दा पार्टी थप अस्थिर बन्न सक्ने निष्कर्ष निकालेका छन्।
नेताहरूका अनुसार अहिले विशेष महाधिवेशनबाट बनेको कार्यसमितिको वैधता अदालतमा विचाराधीन रहेकाले नेतृत्व परिवर्तनले थप जटिलता निम्त्याउन सक्छ। राजीनामा स्वीकृत भए शर्मा कार्यवाहक सभापति बन्नुपर्ने र ६ महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने संवैधानिक बाध्यता आउनेछ।
शर्माले थापालाई पहिलेदेखि नै राजीनामा नदिन सुझाव दिँदै हारको सूक्ष्म समीक्षा गर्नुपर्ने धारणा राख्दै आएका थिए। थापाले कार्यवाहक जिम्मेवारी लिएर १५औँ महाधिवेशनसम्म पार्टी चलाउन आग्रह गरे पनि शर्मा थापाकै नेतृत्वमा महाधिवेशनमा जानुपर्ने पक्षमा देखिएका छन्।
शुक्रबारको बैठकमा राजीनामाबारे अन्तिम निर्णय हुने भए पनि अधिकांश नेताहरू अस्वीकृततर्फ झुकेका छन्। यदि प्रस्ताव पारित भयो भने थापा सभापतिमै रहनेछन् र बैठकले १५औँ महाधिवेशनको मिति तथा कार्यतालिका तय गर्ने सम्भावना छ।












