काठमाडौं। कम्बोडियामा अनलाइन ठगी तथा अन्य गैरकानुनी काममा लगाइएका २० नेपालीलाई उद्धार गरी स्वदेश फर्काइएको छ।
यो घटनाले पछिल्लो समय दक्षिणपूर्वी एसियामा फैलिएको ‘डिजिटल श्रम शोषण’ को जोखिम फेरि सतहमा ल्याएको छ। नेपाली राजदूतावास बैंककको पहल र कम्बोडिया सरकारको सहयोगमा उनीहरूलाई बिहीबार नेपाल फर्काइएको हो।
दूतावासका अनुसार विभिन्न व्यक्तिको प्रलोभनमा परी भ्रमण भिसामार्फत कम्बोडिया पुगेका नेपालीहरू त्यहाँ अवैध रूपमा सञ्चालित ‘अनलाइन स्क्यामिङ सेन्टर’ र क्यासिनोमा काम गर्न बाध्य बनाइएका थिए। कतिपयलाई अनलाइन ठगीका काममा संलग्न गराइएको थियो भने अरूलाई थप गैरकानुनी गतिविधिमा प्रयोग गरिएको बताइएको छ।
उद्धार गरिएका धेरै नेपालीले आफ्नो राहदानी कम्पनीले जफत गरेको वा एक स्थानबाट अर्को स्थान सारिँदा हराएको गुनासो गरेका छन्। यस्तो अवस्थामा नेपाल फर्किन कठिन हुने भएकाले बैंककस्थित दूतावासले निःशुल्क एकतर्फी यात्रा अनुमतिपत्र उपलब्ध गराउँदै आएको जनाएको छ।
कम्बोडिया जाने नेपालीको संख्या हरेक वर्ष तीव्र रूपमा बढिरहेको छ। सन् २०२१ मा १०१ जना नेपाली मात्र पुगेका थिए भने २०२२ मा १ हजार ९७७ जना, ०२३ मा २ हजार,९४०जना, ०२४ मा ६ हजार ४०४ जना र ०२५ मा ९ हजार ६७६ जना पुगेका छन्।
यो वृद्धिलाई वैदेशिक रोजगारीभन्दा बाहिरको ‘छिटो आम्दानी’ को भ्रमसँग जोडेर हेरिएको छ। विशेषगरी लाओस, म्यानमार, थाइल्यान्ड र कम्बोडियामा भ्रमण भिसामा पुगेर फस्ने नेपालीको संख्या बढिरहेको छ।












