काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतपरिणाम अनुसार कोशी प्रदेशमा प्रमुख परम्परागत दल कांग्रेस र एमालेभन्दा श्रम संस्कृति पार्टीले बढी मत पाएको देखिएको छ।
राष्ट्रिय स्तरमा भने संसदमा राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, कांग्रेस दोस्रो, एमाले तेस्रो, नेकपा चौथो र श्रम संस्कृति पार्टी पाँचौँ शक्तिका रूपमा देखिएका छन्।
तर, कोशी प्रदेशबाट आएको समानुपातिक मत हेर्दा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले उल्लेख्य समर्थन पाएको छ। उक्त दलले प्रत्यक्षतर्फ पनि तीन सिट जितिसकेको छ।
समानुपातिकतर्फ श्रम संस्कृतिले कोशी प्रदेशबाट २ लाख ९२ हजार ४९ मत प्राप्त गरेको छ। जबकि, कांग्रेसले २ लाख ९० हजार ५६२, एमालेले २ लाख ८८ हजार १८६ र नेकपाले ९७ हजार ६७९ मत पाएका छन्।
त्यसैगरी, राप्रपाले ६२ हजार ८९९ मत प्राप्त गरेको छ।
कोशी प्रदेशमा श्रम संस्कृति पार्टीले पाएको मतले परम्परागत दलहरूको प्रभाव चुनौतीमा परेको संकेत गरेको विश्लेषण गरिएको छ।












