काठमाडौं। नेकपा (एमाले) नेतृ विन्दा पाण्डेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग गर्दै युवालाई नेतृत्व सुम्पिन माग गरेकी छन्।
सोमबार इमेलमार्फत् एमाले पार्टी कार्यालयमा पाँच बुँदे सुझाव पठाउँदै पाण्डेले अध्यक्ष ओलीलाई मनपरी विधान फेरेकामा माफी माग्दै, २१ फागुनको चुनावमा भएको हार र गत भदौको जेनजी आन्दोलनको जिम्मा लिएर राजीनामा दिन लगाउन भनेकी हुन्।
पाण्डलेले अब विधान महाधिवेशन गरेर दुई कार्यकालमा) उल्ट्याउन माग गरेकी छन्। विधान संशोधन गर्देै ७० वर्षे हदम्याद हटाएर गत मंसिरमा मात्र विशेष महाधिवेशनबाट ओलीलाई पुनःअध्यक्ष बनाइएको थियो। पाण्डे उक्त निर्णयको विरोध गर्दै आएकी छन्।
त्यस्तै, गत २३ र २४ भदौमा जेनजी आन्दोलन हुँदा ओली प्रधानमन्त्री थिए। उक्त घटनामा राज्यबाट भएका कमीकमजोरीबारे ओलीले हालसम्म माफी मागेका छैनन्। सोही कारण चुनावमा पार्टीले हार बेहोर्नु परेको एमाले नेताहरूको ठम्याइ छ।
गत २१ फागुनमा भएको प्रतिनिधिसभा सदस्य चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीले १२५ सिट जित्दा एमाले ९ सिटसहित तेस्रोमा खुच्चिएको छ। त्यति मात्र होइन १ करोड ५ लाख समानुपातिक मत गणना भइसक्दा एमालेले १४ लाख ३२ हजार मात्र पाएको छ, जबकि राष्ट्रिय स्वतन्त्र पार्टीले ५० लाख ७१ हजार मत पाएको छ।
पार्टी पंक्तिका कारण एमालेले नराम्रो हार बेहोरेको भन्दै आलोचना भइरहेका बेला नेतृ पाण्डेले विशेष महाधिवेशन गरेर पार्टी नेतृत्व युवाको हातमा सुम्पिन भनेकी छन्। अथवा इलामबाट जितेका सुहाङ नेम्वाङ, बझाङबाट जितेक ऐन महर वा टिकट नपाएका योगेश भट्टराईलाई अध्यक्ष बनाउन पनि उनको सुझाव छ।
त्यति मात्र होइन पार्टीको नाम फेर्न पनि उनले सुझाव दिएकी छन्। ‘जनतालाइ रोजगारी र बिकास चाहिएको छ । मार्कस्बाद र लेलीनवाद होइन,’ उनको भनाइ छ।
त्यस्तै, अध्यक्ष ओलीकै कार्यशैलीको विरोध गरेकै भरमा पार्टीबाट पाखा लगाइएकालाई जोडन पनि भनेकी छन्। ‘सके सबै लेफ्टी मिल नत्र सकिन तयार भएर बस,’ उनको भनाइ छ।












