काठमाडौं। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रतिनिधिसभा निर्वाचनमा पार्टीले अपेक्षित सफलता हासिल गर्न नसके पनि उज्यालो नेपाल निर्माणको अभियान अझ सशक्त रूपमा अघि बढ्ने बताएका छन्।
निर्वाचनपछि सार्वजनिक गरेको वक्तव्यमा घिसिङले भ्रष्टाचारविरुद्ध र सुशासनको माग गर्दै उठेको ‘जेनजी विद्रोह’पछि भएको चुनावमा आफ्नो पार्टीप्रति विश्वास र आशा राखेर मतदान गर्ने तथा सदभाव देखाउने सबै मतदाता, समर्थक र शुभेच्छुकप्रति धन्यवाद व्यक्त गरेका छन्।
उनले चुनावी अभियानमा खटिएका पार्टीका नेता–कार्यकर्ता तथा सहयोगीप्रति विशेष आभार व्यक्त गर्दै विषम परिस्थितिका बीच पनि निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन योगदान दिने प्रधानमन्त्री, मन्त्रिपरिषद् सदस्य, सुरक्षा निकाय, कर्मचारी तथा सम्बन्धित सबैलाई धन्यवाद दिएका छन्।
घिसिङले यसपटकको चुनावलाई सामान्य राजनीतिक प्रतिस्पर्धा मात्र नभई भ्रष्टाचार, अनियमितता र अकर्मण्यताविरुद्ध उठेको जनआवाजपछि आएको परिवर्तनको अवसरका रूपमा व्याख्या गरेका छन्। देशलाई नाराभन्दा पनि दृष्टिकोण, योजना र काम गर्न सक्ने नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै उनले विकास अवरुद्ध हुनुको मुख्य कारण कार्यान्वयनको कमजोरी भएको बताए।
उनले ऊर्जा क्षेत्रमा आफ्नो नेतृत्वमा भएका उपलब्धि उल्लेख गर्दै लोडसेडिङ अन्त्य, देशका करिब ९९ प्रतिशत घरधुरीमा विद्युत् विस्तार तथा नेपाल विद्युत् प्राधिकरणलाई पुनर्जीवित गर्ने काम भएको दाबी गरेका छन्।
त्यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्रालय सम्हाल्दा छोटो समयमै बञ्चरेडाँडाको फोहोर व्यवस्थापनको अवरोध हटाउने, मेलम्ची खानेपानी पुनः सञ्चालन गर्ने, तातोपानी नाका खुलाउने तथा बाढीले क्षति पुर्याएका सडक पुनः सञ्चालन गर्ने काम अघि बढाइएको उनले बताए।
घिसिङले बुढीगण्डकी, माथिल्लो अरुण र किमाथांका अरुणजस्ता ठूला जलविद्युत् आयोजना स्वदेशी लगानीमै निर्माण गर्न सकिने मोडालिटी तय हुनु महत्त्वपूर्ण उपलब्धि भएको पनि उल्लेख गरेका छन्।
उनले चुनावबाट परिवर्तनको अपेक्षासहित राष्ट्रिय स्वतन्त्र पार्टीलाई भारी जनमत प्राप्त भएको भन्दै जनताको परिवर्तन र आर्थिक समृद्धिको आकांक्षा पूरा गरी देशमा सुशासन कायम गर्न सफल होऊन् भन्ने शुभकामना व्यक्त गरेका छन्।
साथै सरकारका राम्रा कामको समर्थन र गलत काम भए उज्यालो नेपाल पार्टीले सडकबाट रचनात्मक रूपमा खबरदारी गर्दै जाने पनि उनले बताएका छन्।












