काठमाडौं । गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको नतिजा लगभग सार्वजनिक भइसकेको छ।
१६३ निर्वाचन क्षेत्रको नतिजा आउँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शानदार प्रदर्शन गरेको छ। तर प्रत्यक्षतर्फ भने उसले एकल बहुमत पुर्याउन सकेन। रास्वपाले प्रत्यक्षतर्फ १२५ सिट जितेको छ।
पछिल्लो पटक २०६४ सालको संविधानसभा निर्वाचनमा तत्कालीन माओवादीले प्रत्यक्षतर्फ १२० सिट जितेको थियो। तर, २०७० मा बनेको संविधानअनुसार भएका चुनावहरूमा कुनै पनि दलले प्रत्यक्षतर्फ १२५ सिट ल्याउन सकेका थिएनन्।
यसपटक भने रास्वपाको पक्षमा उल्लेख्य उभार देखिएको छ। प्रत्यक्षमा १२५ सिट जिते पनि समानुपातिक मतको नतिजा जोडिँदा भने रास्वपा झन्डै दुई तिहाइको अवस्थामा पुग्ने देखिएको छ।
हालसम्म ९८ लाख मतगणना हुँदा रास्वपाले ४७ लाख २१ हजार मत ल्याइसकेको छ। रास्वपालाई पछ्याइरहेको नेपाली कांग्रेसले १३ लाख २४ हजार मत ल्याएको छ भने एमालेले ७ लाख १४ हजार मत पाएको छ।
प्रत्यक्षतर्फ कांग्रेसले १८ सिट जितेको छ। एमालेले ८ सिट जितेको छ भने एक क्षेत्रमा मतगणनामा अगाडि छ। त्यसैगरी नेपाली कम्युनिस्ट पार्टीले ७ सिट र श्रम संस्कृति पार्टीले ३ सिट जितेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले एक सिट जोगाएको छ।
त्यस्तै, म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी भएका छन्।












