काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले डिजिटल माध्यमको सचेत, जिम्मेवार र समुचित प्रयोग नै डिजिटल भविष्यको आधार भएको बताएका छन्।
पार्टीको केन्द्रीय कार्यालय सानेपामा नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागले आयोजना गरेको ‘डिजिटल प्लेटफर्मको प्रयोग, प्रभाव र असर’ विषयक कार्यक्रममा बोल्दै देउवाले डिजिटल प्रविधिले सेवालाई छिटो, पारदर्शी र सहज बनाएको बताए। उनले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र सार्वजनिक सेवा प्रवाहमा प्रविधिको प्रभावकारी र जिम्मेवार प्रयोग आवश्यक रहेको उल्लेख गरे।
देउवाले कांग्रेस नेतृत्वको सरकारले दूरसञ्चारसम्बन्धी नीति, ऐन र नियममार्फत टाढाका बस्तीमा प्रविधिको पहुँच पुर्याएको भन्दै अझ धेरै सुधार आवश्यक रहेको बताए। डिजिटल प्लेटफर्मको सकारात्मक पक्षसँगै नकारात्मक असरबारे सचेत गराउँदै उनले प्रविधिमैत्री, नवप्रवर्तनशील र समृद्ध डिजिटल नेपाल निर्माणमा सबैको सहकार्य आवश्यक रहेको जोडे।
कार्यक्रममा सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले डिजिटल माध्यम मानवीय जीवनको महत्वपूर्ण आधार बनेको बताउँदै यसको प्रभावकारी उपयोगमा जोड दिइन्। विभाग प्रमुख मीनबहादुर विश्वकर्माले डिजिटल माध्यमबाट पार्टीको गतिविधि र सकारात्मक सन्देश प्रभावकारी रूपमा सम्प्रेषण गर्नुपर्ने धारणा राखे।












