काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वर्तमान एमाले–कांग्रेस गठबन्धन सरकारले अपेक्षा अनुसार काम गर्न नसकेको स्वीकार गरेका छन्। तर, सरकारलाई तत्काल विकल्प नरहेको भन्दै उनले यो सरकार निरन्तर रहने स्पष्ट पारेका छन्।
आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सिटौलाले भने, “सरकारले सोचेजस्तो काम गरेको छैन, तर यो सरकारले निरन्तरता पाउँछ।”
उनका अनुसार बाध्यात्मक परिस्थितिमा गठित सरकारले संसदमा कसैको स्पष्ट बहुमत नभएको अवस्थामा जनताले वा दलहरूले अपेक्षा गरेअनुसार काम गर्न सकेको छैन। तर, सरकार परिवर्तनको अवस्था पनि छैन।
“यसको विकल्पमा अर्को सरकार बन्ने स्थिति छैन,” सिटौलाले स्पष्ट पारे।
उनले हालको राजनीतिक समीकरणमा नयाँ गठबन्धन बन्ने सम्भावना न्यून रहेको भन्दै वर्तमान सरकारलाई निरन्तरता दिइनु पर्ने धारणा राखे।












