काठमाडौं । काठमाडौं उपत्यकामा आज पनि वायु प्रदूषण उच्च छ। आइतबार बिहान नौ बजे ‘एयर क्वालिटी इन्डेक्स’को मापनअनुसार काठमाडौं उपत्यकाको वायु प्रदूषण विश्वमै दोस्रो स्थानमा छ।
भारतको राजधानी दिल्ली विश्वमै पहिलो स्थानमा छ भने पाकिस्तानको लाहोर तेस्रो स्थानमा छ। इन्डेक्सका अनुसार अहिले काठमाडौंको समग्र वायु गुणस्तर सूचकाङ्क एक्यूआई २३१ छ। पहिलो स्थानमा रहेको दिल्लीको एक्यूआई अहिले २९१ छ । वायु प्रदूषणको दृष्टिले तेस्रो स्थानमा रहेको लाहोरको एक्यूआई २०० छ।
विगत लामो समयदेखि पानी नपर्दा काठमाडौंको आकाशमा थुप्रिएको धुलो र उपत्यका आसपासका विभिन्न जंगलमा लागेको डढेलोको धुँवाको कारण काठमाडौं उपत्यकामा वायु प्रदूषणको मात्र उच्च भएको विज्ञहरुले बताएका छन्।
स्वास्थ्य मन्त्रालयले नेपालको वायु विश्वकै अत्यधिक अस्वस्थकर सूचीको माथिल्लो स्थानमा रहेको भन्दै सजगता अपनाउन नागरिकलाई आग्रह गर्दै आएको छ।
चिकित्सकहरुले साँझ र बिहानको समयमा सकेसम्म घर बाहिर ननिस्कन सुझाव दिएका छन्।
विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार मानव स्वास्थ्यको लागि एक्यूआई ३५ भन्दा कम हुनुपर्छ। तर ५० सम्मको एक्यूआईलाई सामान्य नै मानिन्छ। त्यसभन्दा माथिको गुणस्तर एक्यूआई मानव स्वास्थ्यको लागि अस्वस्थकर मानिन्छ।












